बालकलाई नियमित फुटबल प्रशिक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण शुरु गरिएको छ ।
८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण शुरु गरिएको छ । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको छ । फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण दिइरहनु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. १ र प्रदेश सरकारको सहयोगमा धम्बोझीमा एन्फा ग्रासरुट फुटबल एकेडेमी तयार गरिएको हो । एकेडेमीमा धम्बोझी आसपासका ५० बढी बालकले नियमित प्रशिक्षण शुरु गरेका छन् ।


पश्चिम नेपालमा ग्रासरुट फुटबल एकेडेमी नहुँदा उमेर समूहका खेलाडी उत्पादन हुन सकेको छैन । धम्बोझीमा बनेको एकेडेमीले केही वर्षमै उमेर समूहमा राष्ट्रिय जर्सी लगाउने खेलाडी तयार पार्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
प्रत्येक शनिबार ८ देखि १२ वर्षका बालक स्पोर्टस जुत्ता, लामो मोजा र फुटबल जर्सी लगाएर मैदानमा आउने गर्दछन् । कतिपय अभिभावक आफ्ना छोरालाई लिएर एकेडेमीमा आइरहेका छन् । त्यसमध्येका नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिृकत कृष्ण जोशीले छोराले रहर गरेकाले फुटबल प्रशिक्षण दिन ल्याएको बताउनुभयो ।


नेपालगञ्जमा रंगशाला छ । त्यहाँ ठूला प्रतियोगिता र जिल्लास्तरीय खेलाडीले खेल्ने मौका पाउँछन् । धम्बोझीमा बनेको ग्रासरुट एकेडेमीले बालकलाई फुटबल खेलाडी बनाउन सघाउ पुग्ने सम्बद्धहरु बताउँछन् । जुनसुकै खेलको विकास गर्ने हो भने विद्यालयस्तरबाटै खेल्न सिकाउनु पर्छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले धम्बोझीमा नियमित प्रशिक्षण प्रयास गरिएको र नियमित प्रशिक्षण हुँदा केही वर्षमै उमेर समूहको राष्ट्रिय खेलाडी उत्पादन हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !