धान खरिद शुरु, आधा बढी ‘रिजेक्ट’

नेपालगञ्ज – किसानको चर्को दबाबपछि नेपालगञ्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद शुरु गरेको छ ।
कम्पनीले गतवर्ष भन्दा आधा कम कोटा तोकेर धान खरिद गरेको छ । बजारको भन्दा ‘धेरै’ मूल्य तोकेर धान खरिद गरेको कम्पनीले आइतबार पहिलो दिन नै आधा बढी धान गुणस्तर नपुगेको भन्दै फिर्ता गरेको छ ।
कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामबहादुर विष्टका अनुसार, यसपाली २५ हजार क्वीन्टल धान खरिद गरिदैछ । त्यसमा २० हजार क्वीन्टल मध्यम र ५ हजार क्वीन्टल मोटा धान रहेको छ । गतवर्ष यो कार्यालयले ५० हजार क्वीन्टल धान खरिद गर्ने भनेकोमा ४७ हजार ८ सय क्वीन्टल धान खरिद गरेको थियो ।
कम्पनीले मध्यम धान दुई हजार नौ सय दुई रुपैया र मोटा धान दुई हजार सात सय ५२ रुपैयामा खरिद शुरु गरेको छ । जबकी बजारमा धानको मूल्य दुई हजार आसपासमा रहेको छ । कम्पनीले गुणस्तरमा कडाई गरेको छ । कम्पनीले पानीले भिजेको, टुसा देखिएको धान खरिद नहुने जनाएको छ ।
यसपाली कात्तिकमा परेको बेमौसमी वर्षाले धानमा ठूलो पु¥याएको छ । यतिबेला धान पाकेको थियो । कतै काटिसकेका थिए त कतै काट्ने तरखरमा थिए । तीन दिन परेको अविरल वर्षाले धानमा ठूलो क्षति पु¥याएको थियो । खेतमा डुबेको या भिजेको धान गुणस्तरीय छैन । किसानले ल्याएका यस्ता धान कम्पनीले खरिद नगरेर फिर्ता गरेको छ ।
कम्पनीका प्रमुख विष्टले पहिलो दिन नै भिजेको धान सुकाएर ल्याएको र केहीमा टुसासमेत देखिएकाले आधाजति फिर्ता गरिएको बताउनुभयो । ‘हामीले हिमाली तथा पहाडी जिल्लाका मानिसलाई धान कुटेर चामल पठाउने हो । गुणस्तरहीन धान लिनै कुरै आउदैन, विष्टले भन्नुभयो, पहिलो दिनको हेर्दा गुणस्तरीय धान धेरै आउने देखिदैन ।’
बाँकेमा ८ सय २५ जना किसानसँग धान खरिद गरिदैछ । यी ८ सय २५ जना किसानलाई धान बिक्रीका लागि कुपन वितरण गरिएको छ । एक जना किसानले बढीमा ३० क्वीन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले धान बिक्रीका लागि किसानलाई कुपन वितरण गरेको छ । शुक्रबार कुपन वितरण हुँदा किसानको ठूलो भीडले कार्यालयको मुख्य प्रवेशद्वार भत्काइदिएको थियो भने प्रहरीलाई कुपन बाँड्न सकस भएको थियो ।
कम्पनीले गुणस्तरीय धान आएमा कोटा थप गर्न सकिने जनाएको छ । कम्पनीका प्रमुख विष्टले हामीले खोजेको जस्तो गुणस्तरीय धान आइरह्यो भने कोटामा थपघट गर्न सकिने बताउनुभयो । कात्तिकको बेमौसमी वर्षाले ठूलो मात्रामा धानबालीमा नोक्सानी गरेकाले कम्पनीले यसपाली धान खरिदको कोटा घटाएको छ । नेपालगञ्जमा मात्रै नभएर देशभरकै कार्यालयबाट धान खरिद यसपाली कम हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !