कुपन लिन आएका किसान आक्रोशित, कृषि ज्ञान केन्द्रको ढोका तोडफोड

नेपालगञ्ज – धान बेच्ने कुपन लिन आएका किसानको भीडले कृषि ज्ञान केन्द्र, नेपालगञ्जको प्रवेशद्वार तोडफोड गरिदिएका छन् ।
आफ्नो धान बेच्नका लागि कुपन लिन आएका किसानले सहजै कुपन नपाएपछि तोडफोडमा उत्रिएका हुन् । किसान विहान आठ बजे नै कृषि ज्ञान केन्द्रमा पुगेका थिए । कार्यालयको ढोका ११ बजेपछि मात्रै खुल्यो । ठूलो संख्यामा जम्मा भएका किसान अव्यवस्थित तरिकाले अगाडि बढ्दा ढोका तोडफोड भयो ।
कुपन वितरण गर्ने तरिका व्यवस्थित नहुँदा किसानले त दुःख पाए नै कार्यालयको समेत क्षति हुन पुगेको छ । किसानको भीड नियन्त्रण गर्न नसकेपछि कार्यालयले प्रहरी बोलाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो फौजले किसानको आवेगलाई शान्त पारेपनि कुपन वितरण भने सहज हुन सकेन ।


किसानको भीडलाई हेर्दा कृषि ज्ञान केन्द्र कार्यालय परिसर र बाहिर सडकमा मेलाजस्तो देखिन्थ्यो । गनापुरका किसान रामसेवक यादवले विहान आठ बजे आएपछि कुपन नपाएको गुनासो गर्नुभयो । चलाख व्यक्तिले भने पटक–पटक कुपन लिएको देखिन्थ्यो । एउटा कुपन लिएका किसानले ३० क्वीन्टल धान बेच्न पाउने व्यवस्था गरिएको छ । अरु बेच्नका लागि अर्को कुपन लिनु पर्छ ।
किसानले बजारमा सस्तोमा धान बिक्री गरिरहेका छन् । सरकारले अलि राम्रो मूल्य दिएर धान खरिद गर्दैछ । अलिकति राम्रो मूल्यमा धान बेच्नका लागि जिल्लाका विभिन्न ठाउँबाट नेपालगञ्ज आइपुगेका किसानले कुपन होइन, प्रहरीको धक्कामुक्का खाएर फर्किएका छन् । भीड थेगिनसक्नु भएपछि कृषि ज्ञान केन्द्रले अर्को मितिमा कुपन बाँड्ने भन्दै शुक्रबार कुपन वितरण रोकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !