कहिले बस्न पाउलान् खुल्ला कारागारमा कैदी ?
नेपालगञ्ज – बाँकेमा खुल्ला कारागार बनेको दुई वर्ष भइसक्यो । तर, त्यहाँ अहिलेसम्म कैदी बस्न पाएका छैनन् ।
गनापुरमा ३७ कोठे खुल्ला कारागार बनेको छ । भवन बनेर तयार भएको दुई वर्ष हुँदासमेत कारागार विभागले त्यहाँ कैदी बस्ने व्यवस्था मिलाउन सकेको छैन । देशभरकै कारागारमा कैदी बन्दीको चाप रहेको छ । दुई तिहाई कैद भुक्तान गरिसकेका कैदीलाई खुल्ला कारागारमा राख्ने अवधारणा अन्तर्गत देशभरमै पहिलो खुल्ला कारागार बाँकेमा बनेको हो ।
कारागार विभागले खुल्ला कारागार त बनायो । तर, त्यसलाई सञ्चालनका लागि कार्यविधि नबनाउदा अहिलेसम्म खुल्ला कारागार अलपत्र अवस्थामा रहेको छ । दुई तिहाई कैद भुक्तान गरेका कैदीलाई खुल्ला कारागारमा राखिन्छ । उसले दिनभरी अन्यत्र काम गर्ने र साँझ खुल्ला कारागारमा आएर बस्ने भनिएको छ । खुल्ला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदामा यस्तो उल्लेख गरिएको छ । कार्यविधिले पूर्णता पाइसकेको छैन । कार्यविधिमा केही थपघट भए सुझाव दिनका लागि बाँके कारागारमा पनि कार्यविधि पठाइएको छ । बाँकेका जेलर रामकुमार सोनकरले आधा दर्जन बुँदाहरु सुझावको रुपमा पठाउनु भएको छ । दुई तिहाई कैद भुक्तान भएका र खुल्ला कारागारमा बस्न चाहने जुनसुकै मुद्दाका कैदीलाई त्यहाँ पठाउने हो कि के हो ? स्पष्ट पार्न भनिएको छ । खुल्ला कारागारमा बस्ने कैदीले दिनभरी अन्यत्र काम गर्न पाउने भनिएको छ । त्यसरी काम गर्न जादा र फर्किदा उसको सुरक्षाको जिम्मेवारी कसको हुने उल्लेख गर्नु पर्ने सुझाव दिइएको छ ।
बाँकेका जेलर सोनकरले कार्यविधि बनेर सुझावहरु थप्ने काम भइरहेकाले बैशाखदेखि खुल्ला कारागार सञ्चालनमा आउने बताउनुभयो । उहाँले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई खुल्ला कारागारमा राखिने जानकारी दिनुभयो ।
कार्यविधिले गर्दा खुल्ला कारागार सञ्चालनमा ढिलाई भइरहेको छ । खुल्ला कारागार सञ्चालन हुँदा दुई तिहाई कैद भुक्तान गरेका इमान्दार कैदीले दिनभरी काम गरेर साँझ परिवारसँग बस्ने सुविधा पाउनेछन् ।
बाँके कारागारमा ८ सय १५ जना कैदी बन्दी छन् । साढे तीन सय क्षमताको कारागारमा आठ सय बढी कैदी बन्दीलाई कोेचेर राखिएको छ । खुल्ला कारागार सञ्चालन हुँदा केही कैदी उता जादा यता अलि हल्का हुन सक्थ्यो ।
बाँकेकै नौबस्तामा क्षेत्रीय कारागार बनिरहेको छ । एक हजार पाँच सय बढी कैदी बन्दीलाई राख्ने क्षेत्रीय कारागार तीन महिनाभित्र सञ्चालन गर्ने तयारी भएको छ । आठ वटा ब्लक रहेको क्षेत्रीय कारागारमा चार वटा ब्लकको काम अन्तिम चरणमा पुगेको जेलर सोनकरले जानकारी दिनुभयो । ‘चार वटा ब्लकमा अब मार्बल र काठको काम बाँकी छ, जेलर सोनकरले भन्नुभयो, तीन महिनाभित्र पुरै काम सकिन्छ । त्यहाँ कैदी बन्दी राख्छौं ।’
कारागार विभागले देशका विभिन्न ठाउँमा कारागार बनाइरहेको छ । ती सबैको काम समयमै हुन सकिरहेको छैन । बाँकेको दुई वटा कारागारको अवस्थाले पनि त्यस्तो देखाइरहेको छ । अधिकारीहरुले बनाउन थालिएको सबै कारागार सम्पन्न हुँदा कैदी बन्दीलाई कोचाकोचमा राख्ने दिनको अन्त्य हुने बताएका छन् ।