हिंसाको चरम रुप, श्रीमानको हत्या

नेपालगञ्ज – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियानअन्तर्गत देशभरी नै सचेतनामूलक गतिविधिहरु भइरहेका छन् ।
अभियान चलिरहेकै बेला बाँकेमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । सधैं हिंसा पीडित भइरहेकी श्रीमतीले रडले हानेर श्रीमानको हत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका वडा नं. ७, रजगडवाका २५ वर्षीया ओरबी हरिजनले ३० वर्षीय श्रीमान लक्ष्मण हरिजनको हत्या गरेकी छन् । ‘सधैं श्रीमानले मदिरा खाएर आई पिट्दो रहेछ । सधैं कुटाइ खाइरहने ओरबीले रिसको झोकमा रडले श्रीमानको टाउकोमा प्रहार गरेकी छन्, डीएसपी खनालले भन्नुभयो, रडले लगातार टाउकोमा हान्दा श्रीमान बेहोस भएछन् । अस्पतालमा लगेर उपचार गर्ने क्रममा आइतबार विहान ६ बजेतिर मृत्यु भयो ।’
श्रीमान र श्रीमतीको सधैं झगडा भइरहन्थ्यो । शनिबार राती पनि श्रीमान मदिरा पिएर आए । श्रीमतीसँग झगडा भयो । झगडा लामो समयसम्म चल्यो । राती दुई बजेतिर श्रीमतीले श्रीमानको टाउकोमा रडले प्रहार गरिन् । रडले टाउकोमा लगातार हानेपछि श्रीमान बेहोस् भए । त्यसपछि श्रीमती करेसाबारीतिर लुक्न गइन् । छिमेकीले प्रहरीलाई खबर गरे । श्रीमानलाई अस्पताल पु¥याइयो । उपचारको क्रममा मृत्यु भयो ।
ओरबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका दुई बच्चा छन् । अहिले ओरबी र उनका बच्चालाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा राखिएको छ । डीएसपी खनालले आफन्तीहरु बोलाएर बच्चाको जिम्मा लगाउने बताउनुभयो । ‘आफन्तीलाई बोलाएर बच्चाको रेखदेख गर्न भन्छौं । कोही तयार भएनन् भने संघ संस्थाको जिम्मा लगाउनु पर्ला, डीएसपी खनालले भन्नुभयो ।
गनापुरको घटना हिंसाको प्रतिहिंसा थियो । सधैं कुटाई खाने, पीडित हुने महिलाले एक्कासी रिस पोख्दा अपराध हुन पुगेको थियो । देशभरी नै लैंगिक हिंसाविरुद्धको अभियान चलिरहदा बाँकेमा हिंसा बढेर अपराधसम्म पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !