एपीएफका बोगटीलाई नेपालगञ्ज म्याराथनको उपाधी
नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् ।
नेपालमा १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधी जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन् । गतवर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका छन् ।
बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् ।
सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी विजेतालाई एक लाख रुपैया पुरस्कार राखिएको छ ।
हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् । एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथन विजेतालाई ५१ हजार पुरस्कार राखिएको छ ।
नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका छन् ।