हेर्नुस् नेपालगञ्ज म्याराथनमा कसले कुन पुरस्कार पाए

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् ।
नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधी जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन् । गतवर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।
बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैठौ र सातौ भएका छन् ।
सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका बोगटीले एक लाख रुपैया पुरस्कार पाएका छन् । द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौ भएका महतराले १० हजार, छैठौ भएका प्रतापले ८ हजार र सातौ भएका गिरीले ६ हजार रुपैया पुरस्कार पाएका छन् ।
सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रथमदेखि सातौंसम्मका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वर महतराज, महानायक राजेश हमाल, दुग्गड ग्रुपका प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरे ।
हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधी जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् । ५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौड्दा प्रथम भएको प्रतिक्रिया दिइन् ।
एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन् ।
हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैया पाइन् । द्वितिय भएकी भण्डारीले २५ हजार, तृतिय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौ भएका शाहीले ८ हजार, छैठौ भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैया पुरस्कार पाएका छन् ।
हाफ म्याराथनका विजेतालाई उद्योगी व्यवसायी चम्पालाल बोथरा, किरण कार्की, सञ्जय सिंहले पुरस्कार वितरण गरे ।
अन्य विधामा प्रथम, द्वितिय र तृतियका लागि नगद पुरस्कार राखिएको थियो । १० किलोमिटर ओपन (पुरुष) मा मुकेश पाल प्रथम, तिर्थ पुन द्वितिय र सन्तोषनाथ योगी तृतिय भएका छन् । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाए ।
५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितिय र बन्दना बुढा तृतिय भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार रसात हजार रुपैया पुरस्कार पाए ।
५ किलोमिटर (छात्र) मा बादल कार्की प्रथम, अतुल गोडिया द्वितिय र दिपेन्द्र बोहरा तृतिय भएका छन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार पाएका छन् ।
३ किलोमिटर (छात्रा) मा सविता बुढा प्रथम, मन्जिता ऐडी द्वितिय र रविना शेष तृतिय भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् ।
ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितिय र चन्द्रबहादुर कामी तृतिय भएका छन् । उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् ।
किड्स रन (केटा) मा जश्मन्त शाही प्रथम, रोहित सुनार द्वितिय र शिशिर थापा तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पाए । किड्स रन (केटी) मा जमुना पुनमगर प्रथम, समृद्धि बुढाक्षेत्री द्वितिय र रुपा विष्ट तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पुरस्कार पाएका छन् । कर्पोरेट रनमा नवराज जोशी प्रथम, डा. पुष्कर न्यौपाने द्वितिय र विष्णुबहादुर रिमाल तृतिय भएका छन् । उनीहरुलाई मेडलको व्यवस्था गरिएको थियो ।
नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडमा सामेल भएका थिए ।
आयोजक क्रियटिभ ह्याण्डसले पोखरा म्याराथनका परिकल्पनाकार खड्गबहादुर रानाभाटलाई कदरपत्रले सम्मान गरेको थियो ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले २५ हजार पुरस्कारबाट शुरु गरिएको म्याराथनको राशी बढाएर एक लाख रुपैया पु¥याइएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्ने काम भइरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !