कांग्रेसले प्रधानमन्त्रीको कुर्सीमा सिद्धान्त बिर्सियो– ओली
नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्रीको कुर्सीका लागि वीपीको सिद्धान्त बिर्सिएको बताउनु भएको छ ।
नेपालगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डपथमा हिडेको टिप्पणी गर्नुभयो । ‘कहाँ छ कांग्रेसमा वीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ, अध्यक्ष ओलीले भन्नुभयो, नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिडेको छ ।’
चुनावसम्म नै सरकारी गठबन्धनलाई कायम राख्ने कुरालाई संकेत गर्दै ओलीले एमालेसँग एक्लै हिड्ने कसैको हिम्मत नभएको बताउनुभयो । ओलीले भन्नुभयो, नेपाली कांग्रेसलाई म सोध्नु चाहन्छु । एमालेसँग एक्लै लड्ने दम छ ?’ उहाँले गठबन्धन बिना आए जुनसुकै पार्टीको जमानत जफत हुने चुनौती दिनुभयो ।
ओलीले माओवादी कार्यकर्तालाई एमालेमा आउन आव्हान गर्नुभयो । उहाँले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडी लागेर केही नहुने बताउनुभयो । ओलीले माओवादीमा लागेका असल कार्यकर्ताहरु अहिले पनि पेटमा गोली लिएर बस्न बाध्य भएको बताउदै नेताको छोराछोरी, ज्वाईले पार्टीमा रजाई गरेको बताउनुभयो ।
ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढ्ने बताउनुभयो । ‘एमालेमा अब म,म र अहंकार भन्ने मान्छे छैनन्, माधव नेपालको नाम नलिएर ओलीले भन्नुभयो, केपी ओलीलाई भेट्दिन भन्ने अनि मुसा बनेर खुर्ररर बुढानिलकष्ठ जाने । यस्तो कुलंघार प्रवृत्ति हटेको छ ।’
ओलीले अदालत लडाई, कालोपट्टी, बन्द आन्दोलनको थलो भएको बताउदै जनताको समस्या नहेर्ने र तलव भत्ता लिने न्यायाधीश हुनु दुःख भएको बताउनुभयो । ओलीले जनताको काम एमाले बाहेक कसैले गर्न नसक्ने भएकाले सबैलाई एमालेमा गोलबद्ध हुन आव्हान गर्नुभयो ।
ओलीले स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्र, गिरिजा पाठक, खजुराका नेता करिम खाँलगायत तीन हजार ९ सय ९३ जनालाई पार्टीमा प्रवेश गराउनुभयो ।
पार्टी प्रवेश गर्दै मिश्र र खाँले एमालेलाई मधेस विरोध भनेर अनाहकमा आरोप लगाउने गरेको बताउनुभयो । ‘अरुले कुरामात्रै गर्दारहेछन् । एमालेले मधेसमा पनि काम गरेको छ, एमाले मधेस र मधेसी विरोधी पार्टी होइन रहेछ । केही वर्ष हेरेर यो कुरा बुझेपछि एमालेमा प्रवेश गरेका छौं, मिश्र र खाँले भन्नु भएको छ ।