नरैनापुरमा बाघको आक्रमणबाट गाई र मान्छेको मृत्यु

 

नेपालगञ्ज – बाँकेको नरैनापुरमा बाघले मान्छे र गाईलाई आक्रमण गरेको छ ।
गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो । गडरिया २५ गते गाई चराउन गएका थिए । त्यो दिन उनी फर्किएनन् । भोलीपल्ट स्थानीयले थाहा पाए । त्यो दिन सबैले खोजतलास गरे । उनी कतै भेटिएनन् । २७ गते प्रहरी कार्यालयमा निवेदन दिए ।
इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार, खोजतलासको निवेदन आएपछि जंगलतिर खोज्न गयौं । २७ गते राती जंगलमा गडरिया र एउटा गाई मृत भेटियो । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् । नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर जति पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको छ । शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ ।
प्रहरीले गडरियाको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्ज पठाएको छ । राष्ट्रिय जंगलमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । बाँकेको पूर्वीगाभरमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !