अफगानी रोक्न नेपालगञ्ज नाकामा कडाई

नेपालगञ्ज – अफगानिस्तानका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन नेपालगञ्ज नाकामा कडाई गरिएको छ ।
भारतबाट खुल्ला सीमानाको फाइदा उठाउदै अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालगञ्ज नाकामा कडाई गरिएको हो । गृहमन्त्रालयले तराईका सबै नाकाहरुमा यस्तो सर्कुलर गरेको छ ।
पश्चिमको व्यस्त र भीडभाड हुने नेपालगञ्ज नाकाबाट अफगानीहरु नेपाल प्रवेश गर्ने चुनौती रहेको छ । भारतबाट यहाँ दैनिक मजदुरी गर्न आउनेको ठूलो भीड रहेको छ । नेपालगञ्जको क्यासिनोमा आउने भारतीयको संख्या बढ्दो छ । खुल्ला सीमाना भएकाले छोटी नाकाहरुबाट नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको छ ।
अफगानिस्तानलाई तालिवानले कब्जा गरेपछि अफगानीहरु देश छोडेर भागिरहेका छन् । नेपालको राजधानी काठमाडौं अफगानीहरुको ठूलो प्रवेश हुन थालेपछि गृहमन्त्रालयले तराईका नाकाहरुमा यस्तो कडाई गरेको छ ।
नेपालगञ्ज नाकामा यतिबेला भारतबाट आउनेलाई कडा निगरानी गरिएको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले भारतबाट आउनेहरुलाई सोधपुछ गरेर यकिन भएपछि मात्रै नेपाल प्रवेश गर्न दिइरहेको बताउनुभयो । ‘गाडीमा आउनु भएको छ भने पनि हामी रोकेर सोधपुछ गर्छौ, अफगानी होइन भन्ने यकिन भएपछि मात्रै नेपाल प्रवेश गर्न दिन्छौं, जमुनाहाका इन्चार्ज विष्टले भन्नुभयो, केही दिनदेखि नै हामी यसमा लागि रहेका छौं ।’
कोरोनाका कारण बन्द रहेका सबै नाका खुल्ला भइसकेको छ । नेपालगञ्ज नाकामा सीमावर्ती रुपैडिहा बजारमा किनमेल गर्न जानेको ठूलो भीड हुने गर्दछ । नाका खुल्ला हुने वित्तिकै लागु औषधी ओसारपसारका घटना बढेका छन् । तिहार नजिकिदै गर्दा भारतमा रहेका नेपाली फर्किने क्रममा शुरु भइसकेको छ । नेपाल घुम्न आउने, क्यासिनोमा दैनिक आउने वा छोटी नाकाबाट सुटुक्क अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने चुनौती रहेको छ । नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार, फेरि सशस्त्र प्रहरी, नेपाल प्रहरीको जाँच हुने गर्दछ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले अफगानीहरु नेपाल प्रवेश गर्न सक्नेतर्फ प्रहरी सचेत रहेको बताउनुभयो । उहाँले अफगानीलाई रोक्न नाकामा निगरानी बढाएको बताउनुभयो । ‘भीसा नभएका मानिसहरु नेपाल प्रवेश गर्न सक्छन् । आतंककारी पनि आउन सक्छन्, प्रवक्ता न्यौपानेले भन्नुभयो, केन्द्रीय नीति अनुसार नै हामीले नाकामा कडाई गरेका छौं ।’
नेपालगञ्ज नाकालाई लागु औषधी कारोबारी, मानव बेचबिखनका दलाल, साना हातहतियार, भन्सार छलीका लागि प्रयोग गर्ने गरिन्छ । कारोबारले यस्ता अवैध काम बढी भीडभाड हुने भएकोले सहज रुपमा गर्ने गरेको पाइन्छ । भारतसँग जोडिएको ६५ किलोमिटर नै खुल्ला रहेकाले त्यसतर्फ पनि प्रहरीको पहुँच बढाउनु पर्ने देखिन्छ । हुन त सशस्त्र प्रहरीले बीओपीको संख्या बढाउदै लगेको छ । भारततिर एसएसबीको चेकपोष्ट अढाई किलोमिटरको दुरीमा हुँदा हाम्रोतिर सशस्त्र प्रहरीको चेकपोष्ट पातालो रहेको छ ।
नेपाललाई शरणार्थीको आश्रयस्थल बनाउन गिरोह नै सक्रिय देखिन्छ । वर्षौअघि नेपाल प्रवेश गरेका भुटानी शरणार्थीको समस्या समाधान गर्न हम्मे–हम्मे परेको नेपाललाई फेरि बर्माका रोहिग्या र अफगानी नागरिकको आश्रय बनाउन थालिएको छ । एकपटक आइसकेका व्यक्तिलाई निकाल्न गाह्रो हुने भएकाले कुनै पनि बहानामा प्रवेश नै गर्न नदिनु बुद्धिमानी हुने जानकारहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !