भैरवप्रसाद गणले कोहलपुरमा बनाइदियो लिंगे पिङ
नेपालगञ्ज – नेपाली सेनाले बाँकेको कोहलपुरमा लिंगे पिङ बनाई दिएको छ ।
नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले कोहलपुरको न्यूरोडस्थित खुल्ला मैदानमा लिंगे पिङ बनाई दिएको हो । कोहलपुरको सिटी युथ एकेडेमी क्लवसँग समन्वय गरेर नेपाली सेनाले पिङ बनाई दिएको छ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरेर भैरवप्रसाद गणले बनाई दिएको पिङको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गर्नुभयो । मेयर रावतले नेपाली सेनाले पिङ बनाइ दिएर धर्म संस्कृतिको जगेर्ना गरेको बताउनुभयो । ‘मैले यसरी नेपाली सेनाले पिङ बनाइदिएको देखेको थिएन । क्लवहरुले पनि यो कुरामा ध्यान दिएको पाएको थिएन, मेयर रावतले भन्नुभयो, नेपाली सेना र धेरै क्लवहरुको बीचमा सिटी युथ एकेडेमीले राम्रो काम गरेको छ ।’
सिटी युथ एकेडेमी क्लवका अध्यक्ष युवराज शाहीले भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले झाडी बनेको रंगशालाको सरसफाईदेखि ठाउँ–ठाउँमा पिङ बनाई दिएर राम्रो काम गरेको बताउनुभयो ।
सो अवसरमा क्लवले भैरवप्रसाद गणलाई सम्मान गरेको थियो । सम्मान पत्रमा भनिएको छ, ‘यस सिटी युथ एकेडेमी क्लव, कोहलपुर बाँकेको समन्वयमा भैरवप्रसाद गणको सहयोगमा लिंगे पिङको स्थापना गरी हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा संस्कृति रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्यका साथ भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै यो सम्मानपत्र प्रदान गरिएको छ ।’
पिङ धर्म संस्कृतिसँग त जोडिएको छ नै खुशी हुने एउटा माध्यम पनि हो । कोहलपुरको न्यूरोडस्थित खुल्ला मैदानमा गएर जो कोहीले मनोरञ्जन गर्न सक्छन् । यसअघि भैरवप्रसाद गणले नेपालगञ्जको रामलिला मैदानमा लिंगे पिङ बनाइ दिएको थियो ।