नेपालगञ्जमा नेपाल तरुण दलले मनायो स्थापना दिवस
नेपालगञ्ज – देशभरी ६८ औँ स्थापना दिवस मनाइरहेको नेपाल तरुण दलको नेपालगञ्जसँगको साइनो पनि ऐतिहासिक भएको स्मरण गराउँदै स्थापना दिवस कार्यक्रममा बोलेका प्रमुख अतिथि काँग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौरले तरुणदलले देश भरीका युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टीमा एकले अर्कोलाई आरोप लगाएर संगठन मजवुत हुन नसक्ने भएकाले तरुण दल संगठित र अनुशासित संगठन भएकाले पार्टीको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।
विचार गोष्ठी कार्यक्रममा संघीय सरकारका निवर्तमान मन्त्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर हमाल, पार्टी सभापति किरण कोइराला, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, सचिव जनमजय तिमिल्सिना, पूर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा, पूर्व अध्यक्ष रविन्द्र हमाल, विद्यार्थि नेता पूर्ण आचार्यलगायतकाले सम्बोधन गरेका थिए ।
स्थापना दिवसको अवसरमा तरुण दल बाँकेले जिल्ला तरुण दलका पूर्व सभापतिहरुद्वय सुदिप नरसिंह राणा र रविन्द्रबहादुर हमाललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।
वि.सं. २०५४ मा शहर नेपालगञ्जमा भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा स्व. गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए ।
स्थापना दिवसको अवसरमा आयोजित लोकतान्त्रिक आन्दोलन, नेपाली काँग्रेस र तरुणहरुको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा तिन दर्जन बढी युवाहरुले अन्य पार्टी परित्याग गरी तरुण दलको सदस्यता लिएका थिए ।
त्यसैगरी तरुण दल बाँकेले केन्द्रिय सदस्य किशोर सिंह राठौर, निवर्तमान मन्त्री गजेन्द्र बहादुर हमाल र प्रदेश मन्त्री सुरेन्द्र हमाललाई मायाको चिनो प्रदान गरेको थियो ।
तरुणदल नगर सभापति सन्दिपजङ्ग शाहले स्वागत मन्तब्य राख्दै तरुण दल अनुशासित र संयमित भएर अघि बढने धारणा राखेका थिए । तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।
वि.सं. २०१० कात्तिक १० गते स्थापना भएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको नेपाल तरुण दलका संस्थापक अध्यक्ष सिंहध्वज खड्का हुन् ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालालाई २०१७ सालमा तरुण दलको कार्यक्रम सम्बोधन गरिरहँदा अपदस्त गरिएको थीयो ।