डुडुवामा जेष्ठ नागरिकलाई घरमै उपचार
नेपालगञ्ज – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई घरमै उपचार सेवा शुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार होलियाको खडैचाबाट उक्त सेवाको प्रारम्भ गरेका छन् । ‘जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ नाम दिएर उक्त सेवा शुरु गरिएको हो ।
अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिने बताउनुभयो । उहाँका अनुसार, जेष्ठ नागरिक विरामी छन् भने स्वास्थ्यकर्मी घरमै पुग्छन् । घरमै उपचार गर्छन् । त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार गर्छन् । दुई-तीन दिन राख्दा पनि निको नभए नेपालगञ्जको भेरी अस्पतालमा ल्याएर उपचार गरिन्छ । उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्छ ।’
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढाका अनुसार, पालिकामा ७० वर्ष पार गरेका एक हजार दुई सय ७२ जना छन् । ६० वर्षलाई समेत समेट्दा दुई हजार एक सय ३५ जना छन् । दलितको हकमा ६० र अन्यको हकमा ७० वर्ष कायम गरेर सेवा दिने रणनीति बनाइएको छ ।