प्रश्न सुन्नासाथ बीपीले भने, ‘यस्तो कुरा गर्ने कम्युनिस्ट हुन्छन् ? गेट आउट !’
बीपी कोइरालासँग प्रत्यक्ष भेट नहुँदै उनको साहित्यबाट म परिचित थिएँ । दाङमा छँदै बीपीलाई पढ्न थालिसकेको थिएँ । बनारस पुगेपछि त्यो माहोल झन् बढेर गयो । वामपन्थी नेताहरूले बीपीलाई चिन्नका लागि उनका साहित्य पढ्नुपर्छ भन्थे । अनि मात्र उनका बारेमा बोल्न सकिन्छ भन्थे । वामपन्थीको नजरमा बीपी यौनवादी साहित्यकार थिए, राजनीतिमा भारतपरस्त । हामीले उनका सुम्निमालगायतका किताब खोजीखोजी पढ्थ्यौँ ।
बीपीका साहित्यिक र राजनीतिक विचारबारे सामान्य जानकारी राख्न थाल्यौँ । उनका भाषण र प्रजातान्त्रिक समाजवादको चर्चा हुन्थ्यो । हामी चासो दिएर सुन्थ्यौँ र धारणा बनाउँथ्यौँ ।
नेपालभित्र राजनीतिको खास माहोल थिएन । बनारस गएपछि राजनीतिका आ(आफ्ना धार देखा पर्थ्यो । नेताहरूले कलिला विद्यार्थीलाई आ(आफ्ना राजनीतिक आस्थाप्रति आकर्षित गराउन विभिन्न किसिमका उपाय निकाल्थे । बनारस नेपालका राजनीतिक दलहरूले आफ्नोसिद्धान्तको रक्षार्थ समर्थन निर्माण गर्ने थलोजस्तो थियो । विश्वविद्यालय शिक्षादेखि लिएर कलेज र स्कुलसम्मका विद्यार्थीहरू कुनै न कुनै समूहमा आबद्ध हुनैपर्ने बाध्यता सिर्जना हुन्थ्यो । कुनै समूहमा नलाग्दा साथीसङ्गी भेट्टाउनसमेत मुस्किल हुने स्थिति थियो ।
विदेशी भूमिमा स्थानीय गुण्डाहरूले सताउँथे । उनीहरूको सामना गर्न पनि समूहमा बस्नुपर्थ्यो । एकता नै बल हो भन्ने भावनाका साथ विद्यार्थीहरू कुनै न कुनै समूहमा आबद्ध हुन बाध्य हुन्थे ।
दाङका छविकुमार शर्मा र रामकुमार अनाडी कांग्रेसमा आबद्ध थिए । उनीहरू मेरा नातेदारसमेत हुन् । त्यसैले कांग्रेसमा तान्ने अनेक प्रयास गरेका थिए । अलिकति राजनीति बुझिसकेको हुनाले तत्कालीन अवस्थामा कांग्रेसलाई हेर्ने मेरो दृष्टिकोण भिन्न बनिसकेको थियो । त्यसैले कांग्रेसमा आबद्ध हुन सम्भव थिएन । आपसी भाइचारा र पारिवारिक सम्बन्ध यथावतै थियो । यदाकदा कांग्रेस समर्थित विद्यार्थीले गर्ने कार्यक्रमहरूमा पनि मलाई बोलाउँथे । निम्ता पाएपछि म बिना हिचकिचाहट जान्थेँ । यो सिलसिला चलिरह्यो ।
बीपी कोइराला जेलबाट छुटेर पटना हुँदै बनारस आउने खबर सञ्चार भइसकेको थियो । यो कुराले बनारसमा बस्ने नेपालीमा चासो बढ्यो । मलाई पनि चासो लाग्यो । रामकुमार अनाडीलाई सोधेँ, ‘बीपी कहिले आउँछन् रु’
उनले बीपी आउने निश्चित भएपछि खबर गर्छु भने ।
आठवर्षे जेल जीवनबाट बीपी २०२५ कात्तिक १४ गते रिहा भएका थिए । त्यसपछि उनी भारतको बम्बईमा उपचार गर्न गए । पार्टीको कमान्ड सम्हालेका सुवर्णशमशेरलाई कोलकातामा भेटेर बीपी पटना हुँदै बनारस आउने कुरा थियो ।
बीपी बनारस आउने निश्चित भएपछि रामकुमार अनाडी एक्कासि मेरो कोठामा आए । हामी बीपीलाई स्वागत गर्न बनारसको सिटी स्टेसन पुग्यौँ । बीपी पटनाबाट रेलमा आएका थिए । त्यो दिन हाम्रो सामान्य देखाभेट मात्रै भयो । त्यसबेला बीपीलाई स्टेसनमा लिन जानु नै ठूलै आँटको कुरा थियो । किनभने, वामपन्थी पार्टीका अरू कुनै पनि नेताहरू स्टेसनमा देखा परेका थिएनन् । वामपन्थी विद्यार्थी पनि कोही थिएनन् । एउटा प्रसिद्ध साहित्यकार, प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेताको सम्मानका लागि म रेल स्टेसन गएको थिएँ । तर, प्रतिबन्धित अवस्थामा पनि कांग्रेस र वामपन्थीबीच सौहार्द सम्बन्ध थिएन । त्यसैले म त्यसरी बीपीलाई भेट्न जानुको मतलब कांग्रेस भयो भन्ने हुन्थ्यो ।
बीपी बनारसमा केही दिन बसे । केही दिनपछि हामी उनलाई भेट्न जाने निधो भयो । यसपटक भने वामपन्थी नेताहरूसँग म गएको थिएँ । बीपी मैमुरगन्जमा बस्थे । भारत सरकारले बीपीलाई त्यहाँ घर उपलब्ध गराएको थियो । त्यो कुनै राजाको हबेलीभन्दा कम्ता थिएन । बीपीलाई भेट्न जानेमा लोकमणि आचार्य, बोधराज काले, शिव भट्टराई र म थियौँ । हामी पुग्दा बीपी नेपाली कांग्रेस समर्थित विद्यार्थीहरूसँग छलफल गर्दै थिए । उनीहरूको कुरा सिध्याएपछि बीपीले हामीलाई भित्र बोलाए । हामी सरासर भित्र गयौँ । त्यहाँ कुर्सी र टेबल केही थिएनन् । कार्पेट बिछ्याइएको थियो । हामी त्यहीँ बस्यौँ । बीपीका साथ कांग्रेस समर्थित विद्यार्थीहरू पनि सँगै थिए ।
केहीबेर सामान्य शिष्टाचार कुराकानी भए । त्यसपछि बीपीले आफ्नोकुरा राख्न थाले । जेलबाट छुटेको, नेपालको तत्कालीन परिस्थितिबारेमा उनले लामै बोले । त्यस क्रममा बीपीले कांग्रेस र कम्युनिस्ट सबैले आफूलाई विश्वास गर्न अनुरोध गरे । त्यो बसाइँमा मैले चिनेकामा मोहनसिंह बस्नेत ९भैरहवा०, प्रदीप गिरी, रामकुमार अनाडी, छविकुमारहरू थिए । उनीहरू सबै कांग्रेसमा आबद्ध थिए । मभन्दा अग्रजहरूले बीपीसित देशको व्यवस्था परिवर्तनका लागि क्रान्तिका बारेमा चर्चा गरे । नेपालका बारेमा बीपीको धारणा सोधे । बीपीले आफ्नोधारणा प्रस्ट्याउने कोसिस गरे ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा गर्ने क्रममा बीपीले एउटा प्रसङ्गमा चीनको विरोध गरे । मलाई अचम्म लाग्यो । चित्त बुझेन । म त्यतिबेला १७ वर्षको थिएँ । मैले प्रश्न गरेँ, ‘सान्दाइ १ अब परिवर्तन भयो भने वा राजाले बोलाएर प्रधानमन्त्री बनाए भने कोदारी राजमार्ग के गर्नु हुन्छ ? ’
मेरो प्रश्न बीपीलाई मन परेन । उनी एक्कासि आक्रोशित भए । झर्किंदै भने, ‘यस्तो कुरा गर्ने कम्युनिस्ट हुन्छन्, गेट आउट ।’
भर्खरको किशोर न परेँ । म बाहिर जाउँ कि बसौँ भन्ने दोधारमा परेँ । मैले हिम्मत गरेर पुनः अर्को प्रश्न गरिहालेँ, ‘हिजो तपाईंकै पार्टीका नेता तुलसी गिरी पञ्चायतमा प्रवेश गरेर पञ्च बन्नुभयो । तपाईंलाई विश्वास गर्ने आधार के छ रु तपाईंको पार्टीका दस्तावेजहरूमा कुनै ग्यारेन्टी छ रु तपाईं भोलि तुलसी गिरी बन्नु हुन्न भन्ने केही ग्यारेन्टी छ रु’
यो प्रश्न पनि बीपीलाई मन नपरेको उनको अनुहारबाटै थाहा हुन्थ्यो । तर, यसपटक गेटआउट भनेनन् । थोरै सम्हालिएर उनले भने, ‘मलाई विश्वास गर्दैनौ रु’
भर्खरैको फुच्चे केटोले यस्तो प्रश्न सोधेपछि त्यहाँ उपस्थित कांग्रेस नेताहरू र मसँगै गएका वामपन्थीहरूबीच एक खालको सन्नाटा छायो । कांग्रेसीहरू हेरेको हेर्यै भएर मुखामुखमा गर्न थाले । म भने बाहिर निस्किएँ । म बाहिर निस्केको देखेर बीपीकी श्रीमती सुशीला मेरो पछि आएर च्याप्प मेरो पाखुरा समातेर अर्को कोठामा लगिन् । उनले भनिन्, ‘यस्तै हो बाबु १ सान्दाइ रिसाउनु हुन्छ, सन्चो पनि छैन । माइन्ड नगर्नु होला, सरी १’
बीपीको व्यवहारले म दुःखी भइनँ । त्यति ठूलो नेतासँग आफूलाई चित्त नबुझेको प्रश्न सोध्न सकेकामै म खुसी थिएँ, दङ्ग थिएँ ।
सुशीला भाउजुले चिसो खान दिइन् । दुईवटा बिस्कुट पनि दिएर नाम, ठेगाना र पढाइबारे सोधिन् । अनि, पुनः मलाई बीपी भएको हलमा लिएर गइन् ।
यसपटक भने मैले केही बोलिनँ । दुईरतीन घन्टाको बसाइँपछि बीपीको स्वास्थ्यको ख्याल गर्दै सुशीलाले कार्यक्रम स्थगित गर्न आग्रह गरिन् । हामी त्यहाँबाट फर्कियौँ । बीपीको कोठाबाट फर्किने बेला त्यहाँ रहेका मोहनसिंह बस्नेतले मलाई सान्दाइबाट यस्तो व्यवहार नहुनु पर्थ्यो, पिर नमान भनेर ढाडस दिइरहेका थिए । त्यहाँबाट फर्किएपछि म बीपीलाई भेट्न गएको कुराले वाम समर्थक समकक्षी विद्यार्थीबीच खासखुस चलेछ । कतिले म कांग्रेसतिर जाने शङ्का गरेछन् । सँगै गएका दाजुहरूले बीपीसित भएको दोहोरो कुराकानी उनीहरूलाई सुनाएपछि बल्ल ढुक्क भएछन् । अर्को दिन बिहान होटलमा चिया पिउने बेला भेट भएका साथीहरूले तपाईंको प्रश्न साह्रै राम्रो थियो भन्न थाले । बीपीसँग सवालजवाफ गरेको भन्दै बनारसमा रहेका नेपाली विद्यार्थीहरूमाझ मेरो खुबै चर्चा भएको थियो । त्यसले मेरो राजनीतिक चेतनामा उत्साह थपेको थियो ।
यो घटनापछि कांग्रेसका केही नेताहरूले मलाई उग्र कम्युनिस्ट भन्न थाले । उनीहरू भन्थे, ‘जनार्दन उग्रवादी कट्टर कम्युनिस्ट हो, बीपीलाई त त्यस्तो भन्यो ।’
बीपीलाई भेट्ने यस्ता क्रमहरू बनारस बसाइँमा निरन्तर चल्यो । कहिलेकाहीँ दुई(चार जना भएर हामी कुरा गर्न बीपीकहाँ पुग्थ्यौँ । बीपीबाट धेरै कुराहरू सिक्ने अपेक्षा एकातिर थियो भने उनलाई भेट्न जानुको अर्को कारण हामी बीपीसँग भेट्ने हैसियत राख्छौँ भनेर साथीभाइलाई सन्देश दिनु पनि हुन्थ्यो । भेट र छलफलमा आफ्ना कुरा निर्धक्क राख्न थालेपछि बीपीले मप्रति चासो राख्न थाले । मप्रतिको व्यवहारमा पनि बदलाव थियो ।
हामी चर्चित किताब पढ्नुलाई पनि शान ठान्थ्यौँ । म धेरै किताब पढ्छु भन्ने देखाउने मनोविज्ञान हामीमा बढ्तै थियो । बीपीसँगको एकपटकको भेटमा नेपालको राजनीतिक व्यवस्था कसरी परिवर्तन होला भन्ने विषयमा लामै छलफल भयो । हामी त्यतिबेला भारतमा प्रभावशाली रूपमा अघि बढेको नक्सलवादी आन्दोलनबाट प्रभावित थियौँ । नक्सालवाढी भन्ने ठाउँबाट विद्रोह भएकाले नक्सलवादी भनिएको थियो । त्यसैले हामी सम्झौताको पक्षमा थिएनौँ । बीपीले आफ्ना मन्तव्यहरूमा कहिल्यै पनि व्यवस्था फाल्ने कुरा गर्दैनथे । पञ्चायती व्यवस्था सुधार गरेर प्रजातन्त्रिक व्यवस्थामा जाने कुरा गर्थे । हामीलाई त्यो कुरा मन पर्दैनथ्यो । तुरुन्तै आपत्ति जनाइहाल्थ्यौँ ।
बीपीको एउटा वचन म सधैँ सम्झिरहन्छु । उनी बारम्बार भनिरहन्थे, हाम्रो उमेरलाई आधार बनाएर कतिपय कुरा समयले सिकाउँछ ।
बीपीसँगै हामी यदाकदा पुष्पलालकहाँ पनि पुग्थ्यौँ । बीपीसँग भएका कुराहरू उनलाई सुनाउँथ्यौँ, उनको कुरा सुन्थ्यौँ । पुष्पलाल पनि बीपीप्रति नरम थिए । कांग्रेससँग मिलेर नेपालभित्र राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्ने पुष्पलालको विचार थियो । यो कुरा हामीलाई चित्त बुझ्दैनथ्यो । हामी व्यवस्था फाल्ने कुरा गर्थ्यौं । सशस्त्र युद्ध गर्ने, सेना बनाउने सोच्थ्यौँ । चीन र भारतीय नक्सलवादीले जस्तो सशस्त्र आन्दोलनको कुरा गर्थ्यौं ।
त्यस बीचमा बीपीका थुप्रै सार्वजनिक कार्यक्रमहरू भए । मलाई सम्झना भएसम्म पहिलो बनारसको टाउन हलको कार्यक्रममा पुष्पलाल र बीपीले संयुक्त सम्बोधन गरेका थिए । उनीहरूले मन्तव्यका क्रममा नेपालको राजनीतिक सन्दर्भबारे चर्चा गरेका थिए । दोस्रो कार्यक्रम हरिशचन्द्र स्कुलमा भयो । टाउन हलको कार्यक्रममा बीपीले कम्युनिस्टसँग मिलेर जानु हुँदैन भनेका थिए । पुष्पलालले संयुक्त आन्दोलनको कुरा उठाएका थिए । हरिशचन्द्रको सम्बोधनमा बीपीले पनि पुष्पलालको भनाइप्रति समर्थन गरेका थिए ।
बनारसमा आईएस्सी पढाइ सकिएपछि म काठमाडौँ फर्किएँ, वीएस्सी पढ्न । विश्वविद्यालय भर्ना भएँ । २०३३ सालपछि फेरि अरूणप्रसाद बास्कोटा र हरिबोल भट्टराईको सङ्गतमा लागेर बीपीको काठमाडौँस्थित डेरामा जाने अवसर मिल्यो । मैले पहिलोपटक शेरबहादुर देउवालाई देखेको पनि त्यहीँ हो । म अखिलको नेता थिएँ । उनी पनि पश्चिमको भनेर परिचय भएको थियो । मैले परिचय दिएर सान्दाइलाई बनारसमा भेटेको स्मरण गराएँ । उनले भने, ‘अ ! तिमी होइनौँ, प्रश्नैप्रश्न गर्ने फुच्चे ।’ बीपीले मलाई बिर्से पनि प्रश्नचाहिँ बिर्सेका रहेनछन् ।
बीपीले राजासँग मिलेर जाने कुरा गरिरहेका थिए । उनी यो मुलुकमा राजाको आवश्यकता छ भन्थे । राजाबिना मुलुक चन्दैन भन्ने विचारमा उनी प्रस्ट थिए । तर, पञ्चायती व्यवस्था र पञ्चहरूको भने कडा शब्दमा विरोध गर्थे ।
२०३४ सालमा म राविसेका लागि सुर्खेत हिँडेँ । राविसेबाट फर्केर काठमाडौँ गएपछि डिग्रीको थेसिस पुर्याउन बाँकी थियो । म त्यसैको तयारीमा थिएँ । ६ साउन २०३९ मा बीपीको स्वर्गारोहणको खबर आयो ।
नेपाल विद्यार्थी सङ्घले त्रिचन्द्र कलेजमा राखेको श्रद्धाञ्जली पुस्तिकामा मैले श्रद्धासुमन व्यक्त गरेँ । कांग्रेस र कम्युनिस्टबीच फाटो यतिसम्म थियो, बीपीको श्रद्धाञ्जली सभामा सहभागी हुने वा नहुने भन्नेमा समेत विमति थियो, अखिलमा । भीम रावल त्यसको विपक्षमा थिए । अन्ततः अखिलले पनि श्रद्धाञ्जली सभा र शोक पुस्तिकामा सहभागिता जनाएको थियो ।
(प्रा.डा. जनार्दन आचार्यको आत्मकथा ‘मेरो आदर्श, मेरो विश्वास’बाट ।
‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौ प्रकाशन हो । यो पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गर्नु भएको छ । पुस्तक मङ्गलबार नेपालगञ्जमा विमोचन हुँदैछ ।)