सय रुपैया दिएपछि ‘नो एन्टिजेन जाँच’

नेपालगञ्ज – भारतको कालापहाड, सिमला, प्रयाग जाने नेपालीलाई ‘कालापहाडे’ भन्ने गरिन्छ । नेपालगञ्ज नाकामा यी कालापहाडेसँगको पैसा असुली केही वर्षदेखि रोकिएको थियो । ‘विचरा’ को नजरले हेर्ने भएकाले नाकामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले ‘टिठ’ नै मान्थे ।
यो वर्ष कालापहाडेसँग नाकामा धमाधम पैसा असुली भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कर्मचारीले पचास÷सय रुपैया उठाउँने र रिक्सा चालकले होटल सञ्चालकसँग मिलेर होटलमा लगेर ठगी गर्न थाले ।
भारतमा मजदुरी गरेर फर्किएका पहाडका यी सोझा मानिससँग एकाएक किन पैसा उठाउन थालियो ? भित्रीरुपमा बुझ्दै जादा दुई÷चार वटा कारणहरु भेटिए । पैसा असुली हुनुमा प्रहरीमात्रै होइन, केही कालापहाडेहरु पनि दोषी देखिन्छन् ।
नेपाल सरकारले नेपालगञ्ज नाकामा भारतबाट फर्किने नेपालीको ‘एन्टिजेट जाँच’ गर्ने गर्दछ । एन्टिजेन जाँच गर्दा लाइन लाग्नु पर्छ । ठूलो भीड हुने भएकाले केही समय लाग्छ नै । कालापहाडेले भ्रष्ट प्रहरी र होटल सञ्चालकको कुरामा बहकिएर सय रुपैया दिदै घरतर्फ अगाडि बढ्ने जुक्ति निकाल्न थाले । प्रहरीलाई सय रुपैया दिएपछि एन्टिजेन जाँच गर्न नपर्ने माहौल बन्यो । ‘सय रुपैया देउ । को लाइनमा बस्छ ? एन्टिजेन जाँच गर्दा पोजिटिभ देखियो भने अर्को झन्झट हुन्छ’ भन्दै होटल सञ्चालकले समेत कालापहाडेलाई सय रुयैया दिन बाध्य बनाउन थाले । हुन पनि हो, लाइनमा लागेर एन्टिजेन जाँच गर, पोजिटिभ देखियो भने के हुने हो । त्यो भन्दा त सय रुपैया प्रहरीलाई दियो भने सिधैं नाका पार गर्न पाइयो, कालापहाडेहरु पनि कन्भिन्स हुन थाले । सोझासाझाले सय रुपैया दिएर चुप लागेर हिड्न थाले । आखिर घरमा जान त सबैलाई हतार नै हुन्छ । अलि चलाखले म पैसा दिन्न भन्न थाले । उनीहरुबाट नै असुलीको कुरा बाहिर आयो ।
नाकामा प्रहरीलाई पैसा दिएर अघि बढेका कालापहाडेलाई नजिकै रहेको शसस्त्र प्रहरी र भन्सार कर्मचारीले पनि असुल्न थाले । हुँदाहुँदै यस्तो माहौल बन्यो कि सय रुपैया नदिएसम्म कालापहाडेलाई रोकिराख्न थालियो । दशैंमा घरपरिवारलाई खुशी बनाउन भारतबाटै ल्याइएका सामान बोकेका कालापहाडे नेपालगञ्जको चर्को घाममा कतिबेर उभिरहने ? पचास÷सय दियो, अगाडि बढ्यो गर्न थाले ।
बाँके प्रहरीले इलाका प्रहरी कार्यालय, जमुनाहामा कार्यरत १७ जना प्रहरीलाई तानेर अर्को टोली पठायो ।
दशैं नजिकिएसँगै नाकामा दैनिक भीडभाड बढिरहेको छ । कालापहाडेसँग पैसा असुली हुनुको मुख्य कारण एन्टिजेन जाँचसँग जोडिएकाले त्यसलाई छिटो छरितो गराउनु पर्ने देखियो । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेले भीड धेरै भएको र नाकामा एक ठाउँमा मात्रै जाँच हुने भएकाले लामो लाइन हुने हुँदा दुई ठाउँमा जाँच गर्ने व्यवस्था मिलाउन नेपालगञ्ज उपमहानगरपालिकासँग आग्रह गरिएको जानकारी दिनुभयो । नेपालगञ्ज नाकामा एन्टिजेन जाँचमा कोरोना पुष्टि भएपनि संक्रमितलाई डबल मास्क लगाएर घर पठाउने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !