नेपालगञ्जमा वडाबाटै राजश्व संकलनको तयारी

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ । शुक्रबार जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधि तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखीकरणको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भइरहेका केही राजश्व संकलनको कार्य केही समयभित्रै वडा कार्यालयबाट हुने जानकारी दिनुभयो ।
उपमहानगरपालिका सूचना प्रविधिमैत्री बन्ने प्रयास गरिरहेको छ, उपप्रमुख मगरले भन्नुभयो, कर्मचारी र जन प्रतिनिधिसँगै सेवाग्राही पनि सूचना प्रविधि मैत्री हुन जरुरी छ । सूचना प्रविधिको प्रयोगसँगै तथ्यांकको सुरक्षामा पनि विशेशष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम वर्माले वडा तहबाट राजश्व संकलनको काम गर्नका लागि इन्टरनेटसँगै इन्ट्रानेट जडान भइसकेको बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले अहिलेको समय सूचना प्रविधीको रहेको भन्दै प्रभावकारी कार्य सम्पादनका लागि सूचना प्रविधि अत्यावश्यक रहेको बताउनुभयो । जीआईजेडका निराजन सुवेदीले सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगले सहजता ल्याउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !