प्रा.डा. आचार्यको पुस्तक आउँदै

नेपालगञ्ज– राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ लेखेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तक यही १९ असोज २०७८ मा सार्वजनिक हुँदैछ ।
आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् । उनी स्वयंम् वामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन् । नेपाली राजनीतिको दुइधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।
२००७ साल साउन ५ गते दाङको उवाकोटमा जन्मिनु भएकाप्रा.डा. आचार्यले प्रसेनीको स्कूलबाट अक्षर चिने । पाँचकक्षा पढ्न महेन्द्र हाइस्कूल, तुलसीपुर पुग्नु भएका आचार्यले पदमोदय पब्लिक हाइस्कूलबाट टेष्ट पास गरे । यतिबेलासम्ममा उनी राजनीतिमा लागिसकेका थिए । पद्मोदयमा पढ्दा नै वि.सं. २०२४ सालमा पञ्चायती शासकको धरपकडकबाट बच्न भागेर भारतको बनारस पुगे । बनारसको आदर्श कलेजबाट आइएसी गरेपछि वि.सं. २०३० सालदेखि काठमाडौंमा विश्वविद्यालयको पढाई शुरु गरे ।
आचार्यको बनारस बसाईमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसँग संगत भयो । पुष्पलाल श्रेष्ठबाट उहाँले कम्युनिष्टको सदस्यता लिए । दाङको कम्युनिष्ट आन्दोलनलाई प्रत्यक्ष नियाल्नु भएका आचार्यले पूर्वमा रहेको तत्कालिन कोर्डिनेसन कमिटि (कोके) सँग सम्बन्ध स्थापित गराउन मद्दत गरे । बनारसमा रहदा आचार्यले वीपी कोइरालालाई भेटेर नेपालको राजनीतिबारे समीक्षा समेत गरेका थिए । त्यसैले वीपी र पुष्पलालको आदर्श उनले राम्ररी बुझेका छन् ।
वि.सं. २०३२ सालमा अनेरास्ववियु मध्यमाञ्चलको अध्यक्ष बनेका आचार्यले विद्यार्थी आन्दोलनलाई मूल पार्टीसँग जोड्न धेरै जिल्लाहरुको भ्रमण गरे । २०३७ साल बैशाखमा किरण पौडेलसँग विवाह बन्धनमा बाँधिएसँगै २०३९ पुस ११ गतेदेखि महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन शुरु गरे । ३४ वर्षअध्यापन गरेर हाल उनी सेवानिबृत भएका छन् ।
आचार्यको पुस्तकमा दाङको कम्युनिष्ट आन्दोलन, दाङ, बनारस र तत्कालीन कोर्डिनेशन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलन र विश्व विद्यालयभित्रको राजनीतिसँग सम्बन्धित संस्मरण लेखेका छन् । त्यस्तै, दलहरुमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कुटनीति सम्बन्धबारे आफ्ना अनुभूति उनले उल्लेख गरेका छन् । नेताहरु पुष्पलाल श्रेष्ठ, वीपी कोइराला, मरिचमान श्रेष्ठ, सीपी मैनालीजस्ता मुर्धन्य व्यक्तित्वकाबारेमा आचार्यको संगत, भोगाई र बुझाई पनि पुस्तकमा पढ्न सकिन्छ । यस पुस्तकको सहलेखन पत्रकार कुमार श्रेष्ठ र सम्पादन पत्रकार जनक नेपालले गरेका हुन् ।
विभिन्न व्यक्तित्वहरुको भोगाई र बुझाईलाई पुस्तकाकार गर्ने अभियानमा रहेको क्रियटिभ बुक्सले आचार्यको पुस्तकलाई असोज १९ गते नेपालगञ्जमा विमोचन गर्ने तयारी गरेको छ । क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ । ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन हो ।


error: यो सुविधा उपलब्ध छैन !