बनियागाउँ घटना : जिल्लाको आदेश उच्चले उल्टायो

नेपालगञ्ज – उच्च अदालत तुलसीपुर इजलास, नेपालगञ्जले बनियागाउँ घटनामा जिल्ला अदालतले धरौटीमा छोडेका ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बनियागाउँमा २०७७ कात्तिक १५ गते झडप हुँदा ५४ वर्षीय धनिराम अहिरको मृत्यु भएको थियो । गुरुवा गाउँमा लागेको मेलामा भएको सामान्य विवादलाई लिएर ठूलो संख्याका मानिसले कुटपिट गर्दा भैसी चराएर फर्किरहेका धनिरामको मृत्यु भएको थियो ।
यो घटनामा २० जनाविरुद्ध कर्तब्य ज्यान र सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । जिल्ला अदालतले कर्तब्य ज्यानका पाँच जना र ज्यान मार्ने उद्योगका दुई जनालाई थुनामा पठाएको थियो भने अरुलाई धरौटीमा छोडेको थियो ।
घटनाका मुख्य व्यक्ति नै छुटेको भन्दै धनिरामका छोरा सियाराम अहिर (सीताराम) उच्च अदालतको शरणमा पुगेका थिए । उच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले कर्तब्य ज्यान मुद्दाका पाँच जना र ज्यान मार्ने उद्योगका एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । कर्तब्य ज्यानका आशाराम यादव अहिर, दिनेशकुमार गुप्ता, तिरथराम अहिर, अर्जुनप्रसाद काँदु, सुरेशकुमार अहिर र ज्यान मार्ने उद्योगका रामनरेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ । जिल्ला अदालतले आशारामलाई पाँच लाख, तिरथराम, अर्जुनलाई तीन÷तीन लाख, दिनेश, सुरेन्द्र र रामनरेशलाई दुई लाख ५० हजार धरौटीमा छोडेको थियो ।
घटनापछि बनियागाउँमा अझै मिल्ती हुन सकेको छैन । गाउँ दुईतिर बाँडिएको छ । एक अर्कासँग डराइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !