तीन हजार पाँच सयको निशुल्क आँखा परीक्षण
नेपालगञ्ज – भदौ २३ गतेदेखि सञ्चालन गरिएको निशुल्क आँखा शिविर बिहीबार सकिएको छ ।
शिविरको अन्तिम दिन स्वास्थ्य चौकी हिरमिनियामा निःशुल्क आँखा शिविर गरिएको छ ।
शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ३६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
पहिलो चरणको बृहत निःशुल्क आँखा शिविर कारागार कार्यालय नेपालगञ्जबाट प्रारम्भ भई बालसुधार गृह, अस्मानपुर र नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा गरिएको थियो ।
निःशुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको थियो भने ७ सय २६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ । रिफर गरिएका मध्ये बिहीबारसम्ममा ३ सय ३० जनाको शल्यक्रिया भइसकेको छ । ३ सय ९६ जनाको शल्यक्रिया गर्न बांकी रहेको छ र शल्यक्रियाका लागि बिरामीहरूको आउने क्रम जारी रहेको छ ।
उक्त निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा सञ्चालन भएको हो ।
अर्को चरणको बृहत निस्शुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रुइत फाउन्डेसनको संयुक्त सहकार्यमा असोज ११ गते देखि १४ गते सम्म बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको सबै वडाहरूलाई समेट्ने गरि ८ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदैछ ।