संक्रमण हुने भन्दा निको हुने बढी
नेपालगञ्ज – बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन् । कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ ।
जिल्लामा बुधबार १३ जना संक्रमित थपिएका छन् । त्यसमा बाँके जिल्ला निवासी आठ जना रहेका छन् । बुधबार बाँकेमा कोरोना हुने भन्दा निको हुने बढी छन् ।
जिल्लाका तीन वटा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा ३५ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा एकजना र बागेश्वरी ल्याबमा नौ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लामा ९८ जना सक्रिय संक्रमित छन् । १४ जना सिकिस्त, १५ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।