आइतबारदेखि खुल्दै नेपालगञ्जका विद्यालय

नेपालगञ्ज – नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाले २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।
विद्यालय सञ्चालन गर्दा विद्यालय सञ्चालकले केही कुराहरुमा ध्यान दिनु पर्ने भएको छ । स्मार्ट लकडाउनको निर्देशिका बमोजिम मापदण्डहरु पालना गर्नु पर्नेछ । विद्यालयमा विद्यार्थीलाई सिफ्टमा उपस्थिति गराउन निर्देशन दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार, कुल विद्यार्थीको एक तिहाईमात्रै सहभागी गराउनु पर्नेछ । एउटा बेन्चमा दुई जनामात्रै विद्यार्थी राख्नु पर्छ ।
नेपालगञ्जमा बैशाख ९ गतेदेखि निषेधाज्ञा लागेपछि यहाँका विद्यालय बन्द रहेका छन् । निषेधाज्ञाले सबै क्षेत्रलाई खुकुलो पारेपनि विद्यालय सञ्चालन गर्न नदिएको भन्ने चर्को गुनासो आएपछि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । लामो समयपछि विद्यालय सञ्चालन गर्न पाएपछि स्कूल सञ्चालकहरु खुशी भएका छन् ।
स्मार्ट लकडाउनले विभिन्न केस अनुसार निर्धारण गरेको नम्बरमा कोहलपुर नगरपालिका मिस्क र नेपालगञ्ज उपमहानगरपालिका एल्लोमा परेको छ । अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् । बाँकेमा रेड जोनमा कुनै पनि पालिका परेका छैनन् ।
नेपालगञ्जले २७ गतेदेखि स्कूल सञ्चालन गरिरहदा खजुराले २१ गतेदेखि नै सिफ्टमा स्कूल सञ्चालन गरिरहेको छ । अरु पालिकाले पनि स्कूल सञ्चालन गर्दैछन् ।


error: यो सुविधा उपलब्ध छैन !