बाँकेमा एकजना वडाध्यक्षसहित ११ जनाले रोजे नेकपा एस

नेपालगञ्ज – बाँकेमा एकजना वडाध्यक्षसहित एघार जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जमा पुगेर बैजनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कालीबहादुर सिंह र दश जना वडा सदस्य एवं कार्यपालिका सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालाका अनुसार, बैजनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सिंह, खजुरा गाउँपालिका वडा नं. ६ का सदस्य हजुरा बम, जानकी गाउँपालिकाका कार्यपालिका सदस्य टीकाराम सुनार, खजुरा–२ का सदस्य नन्दलाल गुर्ताल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का सदस्य डम्बर थापा, कोहलपुर नगरपालिका वडा नं. ५ का सदस्य शंकर खड्का, कोहलपुर–६ का फग्गु थारु, कोहलपुर–११ का हरिकला सुनार, खजुरा–१ का रामबहादुर शाही र देउप्रसाद बुढाले नेकपा एमाले परित्याग गरेका छन् । नेता कोइरालाले अरु केही साथीहरु आउने तयारी गरेपनि रातारात परिवर्तन भएको दावी गर्नुभयो ।
कोइराला एमालेका जिल्ला अध्यक्ष थिए । उनले नेकपा एस रोजेका छन् । पार्टी अध्यक्ष कोइरालाले नेकपा एस रोजेपनि जनप्रतिनिधिको सानो संख्यामात्रै नेकपा एसमा गएको छ । बाँकेका आठ वटा पालिकामध्ये नेकपा एमालेले तीन वटा पालिकामा अध्यक्ष र उपाध्यक्ष तथा कोहलपुर नगरपालिकामा मेयर जितेको छ । आठ वटा तहमा एक सय ५६ जना जनप्रतिनिधि रहेको एमालेको एकजना वडाध्यक्षसहित ११ जनाले मात्रै नेकपा एस रोजेका छन् । बाँकेमा संघका एकजना र प्रदेशका दुई जना सांसद एमालेमै रहेका छन् ।
नेकपा एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले जिल्लामा एमालेका नेता तथा कार्यकर्ताहरु एक ढिक्का नै रहेको बताउनुभयो । ‘स्थानीय तहका एक सय ५६ जनामध्ये केही साथीले बाटो बिराएका छन्, बाटो बिराएको संख्या थोरै छ, अध्यक्ष ढकालले भन्नुभयो, यसले पार्टीमा ठूलो फरक पार्दैन ।’


error: यो सुविधा उपलब्ध छैन !