अध्यक्ष यादवप्रति श्रद्धाञ्जली

जानकी – बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा बिहीबार गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताउनु भयो । गाउँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्राहनिय कार्य गर्नुभएको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गर्दै आएको बताउनुभयो । जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न रहेको उहाँले उल्लेख गर्नुभयो ।
गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेकपा एमालेका नेता पदम धितालले गाउँपालिका अध्यक्ष यादवको निधनले जानकी गाउँपालिकाले कर्मशिल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताउनुभयो । अध्यक्ष यादवले विगतमा अघि सारेका योजना र कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि र कर्मचारी अघि बढ्न सकेमात्र यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवको ६२ वर्षको उमेरमा गत भदौ १२ गते बिहान शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको थियो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी छन् ।
यादव वि।सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !