खजुराको वडा नं. १ वालविवाहमुक्त वडा घोषणा

खजुरा – खजुरा गाउँपालिका वडा नं. १ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
आइतवार एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात खजुरा १ मा १६ दशमलव १२ प्रतिशत वालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं. १ लाई बालविवाहमुक्त वडा घोषणा तथा प्रतिवद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गर्नुभयो । ‘हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नं. १ लाई वालविवाहमुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिनुभयो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने बताउनुभयो ।
प्लान नेपाल, स्याक नेपाल, बाल क्लव सञ्जाल, किशोरी क्लव, युवा क्लवलगायतको सहकार्यमा वडा नं. १ लाई वालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताउनुभयो ।
खजुरा गाउँपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार शंकर प्रसाद खनालले बालविवाह मुक्त वडा बनाउन गरिएका प्रयास तथा अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरे भने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बाल विवाहमुक्त अभियानमा निरन्तर सहकार्य हुने बताउँदै खजुराबाट अभियानको शुरुवता भएकोमा प्रशंसा गर्नुभयो ।
यसअघि वडा नं. १ को वडा कार्यालयबाट सन्देशमूलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो । घोषणासभा कार्यक्रम सञ्चालन शिक्षक सुन्दर गुरुङ र वडा नं. १ का कर्मचारी मनमाया रानाले गरेका थिए । वालविवाहमुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । केही समय पहिला खजुरा गाउँपालिका वडा नं. ३ लाई वालविवाहमुक्त वडा घोषणा गरी सकिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !