जब युधिष्ठिरले यक्ष-प्रश्न सामना गरे
हरेक युगमा नायक र खलनायक हुन्छन् नै, चलचित्रमा देखाइने पात्रजस्तै। यसपटक द्वापरयुगका नायक श्रीकृष्ण मेरा नायक भए। तर हामीलाई यो युगमा विकास र समृद्धिको नायकको आवश्यकता हो।
यात्रा हरिद्वारबाट माथि लाग्दा ऋिषिकेशमा गंगा किनार देख्दा जो कसैको मन एक टकले रोकिन्छ। ऋषिकेश पुग्दा दून उपत्यका र मसुरी नसम्झिने कुरै भएन। तर यो पटक मेरो यात्रा त्यता थिएन। बद्रिनाथ जाने रुटको तुङ्गनाथ-चोप्ता सम्मको भयो। म यो पटकको यात्रालाई ‘द्वापर युग’को कल्पनामा लैजान चाहन्छु। उसो त भारतको उत्तराखण्ड आफैंमा देवभूमिका रुपमा परिचित छ। जहाँ धेरै युगका कुरा घुलेका छन्।
काङ्गडा र गढवालमा हाम्रा पुर्खाका पाखुराको नायकत्व इतिहास भइसकेको पनि सम्झिएँ। ऋषिकेशबाट श्रीनगर पुगेपछिको विश्राममा कालो कफीको चुस्कीले यात्रामा थप ताजगी भर्छ। श्रीनगरदेखि अलकनन्दाको तिरैतिर, साउन महिनाको झरी, रुद्रप्रयागको बाटो, प्राकृतिक रुपमा मनोरम र धार्मिक रुपमा पवित्र स्थलहरुको दृश्यावलोकन, यात्रा अद्भूत रह्यो।
बर्षौं पहिले श्रीनगरदेखि रुद्रप्रयागको बाटोमा सुरु भएको हाईड्रो-जलविद्युत आयोजनामा बिताएका दिनहरुले मलाई ‘नोष्टालजिया’ मा धकेल्यो बेला-बेला। रुद्रप्रयाग देखि उखिमठ सम्मको यात्रा पहाडी बाटो, उता खाँकडाका गाउँ। ठाउँ ठाउँमा देखिने खोला र हरिया पहाडका दृश्यले यात्रामा थकान महशुस हुँदैन। उखिमठ त्यो ठाउँ हो, जहाँ केदारनाथको शीतकालीन आरती हुन्छ। लगभग बर्षको आधा समय केदारनाथमा गरिने पूजा-अर्चना यहीं हुन्छ।
चारैतिर पहाडको हरियाली, तल नदीबाट उडेको चिसो हावा अनि माथि पहाडका टाकुरालाई चुम्दै उडेका बादल देख्दा उखिमठमा मन पनि उड्न थाल्छ। उखिमठमा द्वापर युगका नायक श्रीकृष्णका नाती अनिरुद्ध र वाणाशुरकी छोरी उशाको विवाह भएको मण्डप छ भन्ने सुनेको थिएँ। आफ्नै आँखाले त्यही मण्डप उखिमठमा देख्दा आकाशमा बादल उडेझैं मन फुरुङ्ग भएर उड्यो। त्यही ठाउँ उशामठ हुँदै नाम बदलिएर उखिमठ भयो।
यसबीच म युधिष्ठर र यक्ष संवाद कसरी र कहाँ भयो होला भनेर बेला बेला द्वापर युगको कल्पनामा डुब्थेँ। द्वापर युगमा महाभारतका पाण्डवहरुको युद्धसम्बन्धि तयारीबारेमा पाँच पाण्डवका बाबु धर्मराजले पाण्डवहरूको युद्ध तयारी ‘परीक्षण’ गरेको सन्दर्भ हो यक्ष र युधिष्ठर संवाद। कुरा महाभारतकाल द्वापर युगकै हो। पाण्डवहरूले वनवास काटिरहेको अवधिको हो। हामी अनुमान गरौं कति वर्ष पहिलेको संवाद हो भनेर।
‘यक्ष र युधिष्ठर’बीच संवाद भएको ठाउँ हो -देवरिया ताल। वनवासमा पाण्डवहरू बसिरहेको कुटीमा हरीणको रुप धारण गरेर धर्मराज पुग्छन् र आगो बाल्ने ‘अरणी’ लिएर त्यहाँबाट भाग्छन्। पाण्डवहरूको खाना पकाउने ब्यक्तिले आगो बाल्ने ‘अरणी’ खोज्नमा त्यो हरीणलाई खोज्न पाण्डवहरुसँग मद्दत माग्छन्। घटनामा ट्वीस्ट तब आउँछ जब पाँच पाण्डव हरीण खोज्दा खोज्दै थाक्छन्। पानी प्यासले गलेका पाण्डवहरू एक ठाउँमा थकाई मार्न बस्छन्। थाकेका युधिष्ठिरले भाई नहकुललाई आसपास कहीं जलासय भए पानी लिएर आउ भन्छन्। नहकुल पानी खोज्छ हिंड्छन्। केहीबेर हिँडेपछि उनले एउटा जलाशय देख्छन्। जलाशयमा पानी पिउन पुगेका नहकुलले अचानक एउटा आवाज सुन्छन्- ‘यो जलाशय मेरो हो, पानी पिउने भए मेरो प्रश्नको जवाफ दिनुपर्छ।’
अज्ञात आवाज सुनेका नहकुलले यताउता हेर्छन्। कसैलाई देख्दैनन्। केवल एउटा वकुल्लो एउटा खुट्टामा उभिरहेको देख्छन्। उनले त्यो आवाजलाई खासै मतलव गर्दैनन्। तिर्खाएका नहकुलले पानी पिउँछन्। पानी पिउनेवित्तिकै उनको मृत्यु हुन्छ। धेरैबेरसम्म नहकुल नफर्किएपछि युधिष्ठिरले सहदेवलाई नहकुल खोज्न पठाउँछन्। जलाशय नजिक पुगेका सहदेवले पनि त्यही आवाज सुन्छन्। सहदेवले पनि आवाजलाई बेवास्ता गर्दै पानी पिउँछन उनको पनि मृत्यु हुन्छ। एवम् प्रकारले अर्जुन र भिमलाई पनि पठाउँछन। ती दुईको पनि जलाशयमा पानी पिउनेवित्तिकै मृत्यु हुन्छ।
सबै भाईहरू नफर्किएपछि युधिष्ठिर स्वयं भाईहरूको खोजीमा निस्कन्छन्। जलाशय नजिक पुग्दा चारै भाई मृत अवस्थामा भेटाउँछन्। पानी पिउन लागेका युधिष्ठिरले पनि त्यही आवाज सुन्छन -‘यो जलाशय मेरो हो, पानी पिउने भए मेरो प्रश्नको जवाफ दिनुपर्छ।’ जवाफमा युधिष्ठिरले भन्छन्- ‘हुन्छ म तिम्रा सबै प्रश्नका जवाफ दिन्छु तर तिमी आफ्नो असली रुपमा प्रकट हुनुपर्छ।’ भनिसके लगत्तै पर बसेको बकुल्लो ‘यक्ष’का रुपमा प्रकट हुन्छन्। अनि सुरु हुन्छ ‘यक्ष र युधिष्ठर’ बीचको अन्तरङ्ग संवाद स् प्रश्न र उत्तरको।
यहीँबाट सुरु भयो यक्ष प्रश्नको सवाल(जवाफ। सारी गाउँ एउटा चिटिक्कको वस्ती हो। यही ठाउँबाट करिब ३ किलोमिटर माथि समुन्द्री सतह देखि करिव ७ हजार ६ सय फिट उचाईमा एउटा जलाशय छ, जहाँ पाण्डवका चारै भाईको पानी पिउँदा एकैपटक मृत्यु भएको थियो।
भारतको उत्तराखण्ड हाम्रो नेपालको पहाडी र हिमाली भेगको भू-बनोट जस्तै हो। फरक छ त सडक सञ्जालको। बाटो चिटिक्क बनेको छ। त्यहाँ पनि एडिबि ९एशियाली डेभलपमेन्ट बैंक०को सहयोगबाट बनेका सडक छन्। गाउँगाउँमा फोर जी टेलिकम सेवा उपलब्ध छ। त्यतिमात्रै होईन पर्यटकका लागि बस्न र खानमा समस्या हुँदैन। फर्किंदै गर्दा टेहरी ड्यामलाई फन्को मार्दै तल झरियो, पिपल डालीबाट टेहरी ड्यामको जलाशयको दृश्य अनि झोलुङ्गेपुलमा आरपार गरिरहेका मानिसहरूको दैनिकी जबर्जस्त लाग्छ।
टेहरी बाँध भागिरथी र भीलंगना गंगाका दुई सहायक नदीलाई पहाडहरूका बीचमा जोडेर बनाईएको परियोजना हो। २ सय ६१ मिटर अग्लो टेहरी बाँध संसारको पाँचौ अग्लो बाँध हो। सन् १९६१ मा सम्भाब्यता अध्ययन सुरु गरिएको उक्त परियोजनाबाट ६०० मेगावाट विजुली उत्पादन हुन्छ। सन् १९७२ बाट निर्माण थालिएको गरिएको उक्त बाँधबाट १९९२मा उत्पादन सुरू भयो। टेहरी बाँधबाट नेपालका लागि सिक्नुपर्ने कुरा खोला र नदीलाई पहाडमा कसरी उर्जा उत्पादनमा बदल्न सकिन्छ भन्ने हो। उक्त बाँधबाट २४०० मेगावाट विद्युत उत्पादन, २,७०,००० हेक्टर क्षेत्र सिंचाईसँगै प्रतिदिन १०२।२० करोड़ लिटर पिउने पानी दिल्ली, उत्तर प्रदेश एवं उत्तराखण्डमा पुर्याउने लक्ष्यमा काम भईरहेको छ।
कुनै निश्चित ठाउँमा पुग्ने उद्देश्य नबनाएरै धनगढी, पलिया, पुवाँया, शाहजहाँपुर हुँदै स्वास्थ्य परीक्षण (कोभिड-१९ पिसिआर जाँच) गराएर सुरु भएको यसपटकको यात्रा भारत, उत्तराखण्ड केन्द्रित रह्यो। खासगरी उत्तराखण्डको धार्मिक पर्यटकीय क्षेत्रको विकाससँगै सडक, हाईड्रो र संस्कृतिको विकासमा भारतले गरेको ब्यवस्थापनलाई नेपालले आत्मसाथ गर्न सक्नुपर्छ भन्ने लाग्यो। हामी त्यो स्तरको विकासको मोडेललाई मात्रै लागु गर्न सक्ने हो भने नेपालको हिमाली र पहाडी क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सक्छौं भन्ने अनुभव हुन्छ।
खाँकडा (काँगडा) गढवाली भाषा बोल्नेहरुसँग पहाडी पनको न्यानो र आत्मियता भरिपूर्ण छ। एउटै पहाडलाई कैयौं फेरो लगाउने तमाम सडक सञ्जाल नै उत्तराखण्डको विकासको सेतु बनेका छन्। जो नेपालमा अझै अपुग छ । यो पटकको उत्तराखण्ड यात्राको विश्राम हरिद्वारको रेल्वे स्टेसन पुगेर रेलको बुगिमभित्र पसेपछि स्लिपरमा टुङ्गियो।