महायज्ञमा तीन करोड संकलन, ७५ लाख खर्च
नेपालगन्ज – सिधनियाघाट बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिएको भागवत कथा महायज्ञमा तीन करोड संकलन भएको आयोजकले बताएका छन् ।
बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा महायज्ञ आयोजना गरेको थियो । कथाबाचन पण्डित दीनबन्धु पोखरेलले बाचन गरेको महायज्ञमा तीन करोड तीन लाख १५ हजार चार रुपैया संकलन भएको कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ७५ लाख रुपैया खर्च भएको छ ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार, एक करोड ४५ लाख ९७ हजार ४ सय २८ रुपैया नगद प्राप्त भएको छ । ६० लाख ४४ हजार ४७ रुपैया घोषणा भएपनि उठाउन बाँकी रहेको छ भने २१ लख ६६ हजार १ सय ५२ रुपैयाको चेक प्राप्त भएको छ र त्यसलाई साट्न बाँकी रहेको छ । नेपालगन्जका मेयर प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नं. ४ मा एक कठ्ठा र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक बर्माले नेपालगन्ज–१९ मा १६ धुर जग्गा दान गरेका छन् ।
मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले अझै दुई करोड रुपैया उठाउने गरी अगाडि बढेको बताए । उनले महोत्सव सम्पन्न गर्नका लागि गठन गरिएका उपसमिति र सचिवालयलाई विघटन गरेका छन् ।