समावेशी टोलमा खानेपानीको पाइप विस्तार गरिँदै
कोहलपुर – कोहलपुर नगरपालिका–९ समावेशी टोलमा खानेपानीका लागि पाइप विस्तार गरिने भएको छ ।
लुम्विनी प्रदेश सरकारको १२ लाख बजेटबाट एक हजार तीन सय मिटर पाइप लाइन विस्तार गर्न लागिएको भेरी राप्ती खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष झुपनाथ योगीले जानकारी दिए । पहिलो चरणमा खानेपानी ट्यांकीबाट समावेशी टोल हुँदै पाइप लाइन विस्तार गरिन लागिएको हो । ‘वडाबासीलाई खानेपानीको पहुँचमा ल्याउन प्रदेश सरकारको बजेटबाट पाइप लाइन विस्तारको काम अगाडि बढाइएको छ वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले भने–‘चालू आर्थिक वर्षभित्रै निर्माण काम सक्ने गरी एक हजार तीन सय मिटर पाइप लाइन विस्तार हुनेछ ।’ प्रदेश सरकारले खानेपानी भवन र पाइप लाइन विस्तारका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । त्यही बजेटमा अहिले भवन निर्माणको काम पनि भइरहेको उनले बताए । दुई सय २५ घनमिटर अर्थात दुई लाख २५ हजार लिटर क्षमताको भेरी राप्ती खानेपानी संस्थाले आगामी आर्थिक वर्षबाट उपभोक्ताहरुलाई पानी वितरण गर्ने गरी योजना अगाडि बढाएको छ ।