विभिन्न सामग्री सहयोग
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले महिलालाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत महिलालाई सिलाई मेसिन, इन्टरलक मेसिन र साइकल सहयोग गरिएको हो ।
बिहीबार नगर प्रमुख डा. धवलशमशेर राणाले महिलालाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलालाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ । ४९ जनालाई साइकल सहयोग गरिएको छ । दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका महिलाहरुलाई सामग्री सहयोग गरेको छ । गत आवमा नगर कार्यपालिका सदस्यहरुले सञ्चालन गर्ने कार्यक्रमका लागि १२ लाख रुपैयाको कार्यक्रम विनियोजन गरिएकोमा कोभिडका कारण आयआर्जन मुलक कार्यक्रम सञ्चालन हुन नसकेपछि यसअघि तालिम प्राप्त महिलाहरुलाई सिलाईकटाई तथा इन्टरलक मेसिन उपलब्ध गराइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष सहित अन्य ८ जना कार्यपालिका सदस्य रहनुभएको छ । कौशलकुमार धोवी, देउमल सुनार, वशन्ता जोशी, इन्दिरा शाही, नन्कैै पठानी, सीमा बैश्य, मञ्जु नेपाली र देवेन्द्र पाल सिंह कार्यपालिका सदस्य रहनुभएको छ ।