नरेश, रामकुमार र माधवी सम्मानित

नेपालगञ्ज – उत्तर पश्चिम पृतना हेडक्वाटर, निमारे ब्यारेक सुर्खेतले भैरबप्रसाद गणको १६४ औ बार्षिकोत्सवको अवसर पारेर बाँके र बर्दिया जिल्लामा उत्कृष्ट सेवा गरेका ३ जना राष्ट्र सेवकलाई कदर पत्र सहित सम्मान गरेको छ ।
स्वास्थ्य कार्यालय, बर्दियाका जनस्वास्थ्य अधिकृत तथा हाल कोभिड महामारीमा बाँकेमा कार्यरत नरेश बावु श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर र शिक्षा क्षेत्रमा रहि लामो समयदेखि सामाजिक सेवामा कार्यरत माधबी शाह सम्मानित हुनु भएको हो ।
जनस्वास्थ्य अधिकृत नरेश बावु श्रेष्ठले विगत २५ वर्षदेखि देशका ७ भन्दा बढि दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ भने कोभिड महामारीमा बाँके र बर्दियामा रही कोभिड विरामीको व्यवस्थापन उपचार प्रेषण र शव व्यवस्थापनमा समन्वयात्मक ढंगले उत्कृष्ट सेवा प्रदान गर्दै आउनु भएको छ ।
प्रशासकीय अधिकृत रामकुमार सोनकरले लामो समय बाँके जिल्लाको जिल्ला प्रशासन कार्यालयमा रही सेवाग्राहीमैत्री सेवा प्रदान गरिरहनु भएको छ ।
शिक्षण सेवामा रहनु भएकी माधबी शाहले आफ्नो शिक्षण सेवाका अतिरिक्त सामाजिक सेवाका बिभिन्न क्षेत्रमा रही बाँके जिल्लाका जनताको सेवामा जुटिरहनु भएको छ । उहाँहरुको सम्मान पत्रमा भनिएको छ, ‘तपाईको ब्यक्तिगत समर्पण, ज्ञान र अनुकरणीय प्रयासले आफ्नो तहवाट विभिन्न क्षेत्रमा पु¥याउनु भएको अतुलनिय योगदान तथा नेपाली जनता र नेपाली सेनाबीच प्रगाढ सम्वन्ध राख्न खेल्नु भएको भूमिकाको उच्च मूल्यांकन गर्दछु । तपाई जस्तो नेपाली सेनाप्रति सदैव सकारात्मक धारणा राख्ने ब्यक्तित्वको सम्मानले सैनिक नागरिक सम्वन्धमा भविश्यमा थप टेवा पुरयाउन दिशा निर्देश गर्नेछ ।’
भैरव प्रसाद गण, राँझाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका सकल दर्जाका विशिष्ट ब्यक्तित्वहरु, पृतनापति, गणपति, बाँके र वर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, अस्पताल प्रमुख, सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !