मानव बेचबिखनको अवस्थाबारे कोहलपुरमा समीक्षा

कोहलपुर – बाँकेको कोहलपुरमा मानव बेचबिखन तथा ओसार पसारको अवस्थाबारे समीक्षा गरिएको छ ।
कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, माइती नेपाल र हाम्रो सम्मान परियोजनाको समन्वय, सहकार्यमा नगर स्तरीय मानव बेचबिखन नियन्त्रण समितिसंँगको वार्षिक समीक्षा र योजना बैठक सोमबारबाट शुरु भएको हो ।
समीक्षामा माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०७७-०७८ मा जोखिमपूर्ण यात्रामा रहि सीमा नाकामा पुगेका तीन सय नौ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले उद्धार गरिएकामध्ये १८ वर्षमाथिका महिला १ सय ९८ जना र १८ वर्ष मुनिका बालिका १ सय ६, बालक ५ रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
गत एक वर्षमा बाँकेका मात्रै ४४ जनालाई उद्धार गरिएको छ । जसमध्ये कोहलपुर नगरपालिकाका १३ जना, बैजनाथ गाउँपालिकाका १४ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४ जना, डुडुवा गाउँपालिकाका १ जना र राप्तीसोनारी गाउँपालिकाका ४ जनाको उद्धार गरिएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।
आर्थिक रुपमा कमजोर तथा शिक्षाको पहुँचबाट टाढा रहेका सामुदाय तथा परिवारको सदस्यहरु मानव बेचबिखनमा पर्ने अवस्था रहेकोमा हाल आएर शिक्षित तथा आर्थिक रुपमा सम्पन्न परिवारका सदस्यहरु मनव बेचबिखनको सिकार हुने गरेको देखिएको छ ।
कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगरपालिका मावन बचेबिखनको उच्च जोखिममा रहेको बताउँदै भौतिक विकाससँगै मानवीय चेतनाको विकास आजको आवश्यकता रहेको बताउनुभयो ।
हाम्रो सम्मान परियोजनाका कार्यक्षेत्र संयोजक कमला पन्तले वैदेशिक रोजगार, झुठा विवाह, मनोरञ्जन प्रदान मानव बेचबिखनको बदलिदो स्वरुप भएको बताउनुभयो ।
युवा दृष्टि नेपालका अध्यक्ष युवराज पोख्रेलले मानव बेचबिखन इच्छा विपरीत भएकाले यसलाई नियन्त्रण गर्नका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिँदै स्थानीय सरकारले मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्न सो नीति कार्यान्वयन गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
समीक्षामा समितिका सदस्य वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा महिला सदस्य र अन्य सरोकारवाला संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !