सामाजिक अभियान बोकेर साइकल कुदाउदा

खजुरा – बौद्ध र हिन्दु धर्म अनुसार कोरा धार्मिक स्थलको परिक्रमा हो । जुन घडीको सुइको दिशामा गरिन्छ । माउन्ट कैलास यस्तो परिक्रमा हो, जुन जीवनकालमा एकपटक गर्नु नै पर्याप्त र पूर्ण हुनेछ ।
१६ वर्षीय बेलायती युवा म्याक्सिम जोन्सले पहिलोपटक समता स्कुलमा भोलिन्टियरका रूपमा नेपाल आउँदा उक्त विद्यालयलाई सहयोग जुटाउन ६० किलोमिटरको साइकल यात्रा गरे । उनलाई अर्का एक नेपाली युवक सिसाङ्ग लामाले समेत साथ दिए र उनीहरुको साइकल यात्राबाट जम्मा भएको चार लाख पचास हजार समता स्कुललाई डोनेट गरेका थिए । यो नै नेपालमा शुरु पहिलो कोरा थियो । यसपटक २०२१ मा कोराको ११ औं सस्करण हुँदैछ । २०१२ को कोरामा सहभागी तीन सय साइक्लिष्टले सामुहिक रूपमा साइकल चलाएर नौ लाख पचास हजार फन्ड रेज गरेका थिए ।
माथीका यी राइडबाट म पनि प्रभावित भए र यसपटकको मेरो कोरा–२१ अन्तर्गतको साइकल यात्रा सय किलोमिटरका लागी सार्वजनिक अपिल मैले आफ्नो फेसबुक वालमा गरेको पहिलो दिन नै झन्डै ५० प्रतिशत स्पोन्सर प्राप्त भयो । ४ दिन भित्र जम्मा ५८ जना विभिन्न ब्यक्तिहरुले सय किलोमिटर बापत रुपैयाँ १ लाख स्पोन्सर गर्नु भयो । यो फन्ड रेजबाट उठेको रकम बाँके जिल्लाको चुरे पहाडको डाडामा रहेको सन्तानेश्वर महादेव मन्दिरका लागी दिइने घोषणा गरेबमोजिम मैले यसै हप्ता भित्र यो रकम हस्तान्तरण गर्नेछु ।
मैले २०१७ बाट माउन्टेन बाइकिङ्ग शुरु गरे । यता मैले सामाजिक कामका लागी साइकल चलाए बापत फन्ड रेजका लागी पहिलोपटक अभियान शुरु गरे । थुप्रैको शुभकामना, शुभेच्छा र सहयोग प्राप्त भयो । मेरो सय किलोमिटरको स्पोन्सर पुरा भैसकेको थियो तर अझै धेरै मेरा शुभेच्छुक मित्रहरू यो अभियानलाई स्पोन्सर गर्न खोजिरहनु भएको थियो । तर पूर्व घोषित आफ्नो अभियान सय किलोमिटरको मात्र स्पोन्सर लिने भएकोले यसपटक मैले उहाँहरुबाट त्यो स्पोन्सर रकम लिन सकिन । साइकल त जीवनकालमा धेरै कुदाइयो, स्कुल पढ्दा लगातार ५ बर्ष र क्याम्पस पढ्दा थप २ बर्ष गरि लगातार सात बर्ष साइकल चलाएको म यसपटकको साइकल एउटा सामाजिक काम र उद्देश्यसहित चलाउने अवसर पाए र जुन सफल समेत भएको छ ।
मैले साउनको २ गते खजुरा घरबाट बिहान ५ बजे निस्केर बागेश्वरी मन्दिरको दर्शन गर्दै मन्दिर छेउमा रहेको बौद्ध बिहार हुँदै नेपालगञ्ज बजार परिक्रमा गर्दा त्रिशक्ति मन्दिर, गुरुद्वारा, मस्जिद समेतको परिक्रमा गर्दै कोहलपुर, सम्झना, बाँसगढीमा रहेको ओम केदारेश्वर धाम, सत्खलुवा ताल, बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको रम्मापुर होमस्टे, माछागढ, जब्दिघाट, गुलरिया, मोहम्मद्पुर, सितलाबजार, मैनापोखर, भोलागौडी हुँदै मैले रातीको ९.३० बजे एक सय ३१ किलोमिटरको साइकल यात्रा १६ घन्टा ३० मिनेटमा पुरा गरे ।
उक्त यात्रामा नेपालगञ्जबाट लवराज श्रेष्ठ, राजेश गुप्ता, शितल कर्माचार्य, शक्ति कर्माचार्य, सिर्जन राज श्रेष्ठ, पंकज श्रेष्ठ र कोहलपुरबाट किरण श्रेष्ठ समेत सँगसँगै हुनुहुन्थ्यो । बर्दियामा रहेको सत्खलुवा ताल पर्यटकीय क्षेत्र हो, त्यहाँ होमस्टेसँगै रहेको सिमसार क्षेत्र र मनमोहक ताल र जङ्गलले पर्यटकलाई लोभ्याउने छ । त्यस्तै रम्मापुरमा थारु युवाले शुरु गरेको होमस्टे पनि अति नै राम्रो थियो जहाँ हामीले लन्च ब्रेक गरेका थियो ।
यसैगरी पुरा दिन बाँके र बर्दियाका धार्मिक स्थलको परिक्रमा र पर्यटकीय क्षेत्र घुमेर हामीले यसपटक को कोरा–२१ सफलतापूर्वक पुरा गरियो ।


error: यो सुविधा उपलब्ध छैन !