नरैनापुरको सन्तानेश्वरमा भक्तजनको भीड

नेपालगञ्ज – नरैनापुरको सन्तानेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ ।
भर्खर–भर्खर चर्चामा आएको सन्तानेश्वरमा शनिबार ठूलो संख्यामा भक्तजन पुगेका हुन् । नेपालगञ्ज, कोहलपुर, विनौनालगायत ठाउँबाट मन्दिरमा पुगेका भक्तजनलाई गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले स्वागत गर्नु भएको थियो ।
पर्यटनको राम्रो संभावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भएपनि भक्तजनहरु मन्दिरमा पुगेका छन् ।


नरैनापुरको वडा नं. ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामाकरण भएको मन्दिरको अहिले जिल्लामा चर्चा रहेको छ ।
सन्तानेश्वर मन्दिर नेपालगञ्जदेखि ३० किलोमिटरजति टाढा पर्छ । २२ किलोमिटर टाढा पर्ने नरैनापुरको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर हिडेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ । शनिबार नेपालगञ्जलगायत आसपासबाट सन्तानेश्वरमा पाँच हजार आसपासमा मानिस पुगेको गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताउनुभयो ।
मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडीबाबाले वि.सं. १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताउनुभयो । मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निशुल्क खाना) गर्छन् । २०७० साल यहाँ मन्दिर बनाइएको छ ।


सन्तानेश्वरमा शिवरात्री, तिजमा विशेष भीडभाड हुने गर्दछ । साउन र शिवरात्रीमा रुद्रीपाठ हुने गर्दछ ।
२०२९ सालदेखि लालपुरमा बसोबास गर्दै आउनु भएका दीर्गबहादुर खड्काले अहिले चर्चामा आएपनि यो ठाउँमा भक्तजन आइरहने बताउनुभयो । ‘यहाँ आएर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ, खड्काले भन्नुभयो, धेरै जनाले फल पनि पाउनु भएको छ ।’


मन्दिरमा पुग्नु भएका गाउँपालिका अध्यक्ष मो. शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेत समक्ष महन्त पहाडीबाबाले तत्काल नै विजुली र पानीको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष मो. शाहले सोलार बत्ती र पानीको व्यवस्था तत्काल गरिदिने आश्वासन दिनुभयो । उहाँले मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना सुनाउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि तत्कालिन र दीर्घकालिन योजनाहरु बनिसकेको बताउनुभयो ।


शनिबार नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीबाट ५ हजार मानिस पानी रुझ्दै सन्तानेश्वर मन्दिर पुगेका थिए । दूधे बच्चा बोकेर मन्दिरको दर्शन गर्न पुगेका थिए । गाउँपालिकाले सानो सवारी साधनको पहुँच बनाइदिने हो भने सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने देखिएको छ । एक्कासी चर्चा आएर मानिसहरुको ओइरो लाग्न थालेपछि गाउँपालिका पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कस्सिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !