भेरीमा दुई कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै जना बर्दिया जिल्लाका रहेका छन् ।
कोभिड फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ४ का ६३ वर्षीया महिलाको मृत्यु भएको छ ।
असार २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको गएराती पौने दश बजे मृत्यु भएको छ ।
बर्दिया राजापुर नगरपालिका वडा नं. १० का ६५ वर्षीय पुरुषको भेरीमै मृत्यु भएको छ । असार २० गते बर्दियामा पीसीआर गरिएका उनलाई २६ गते भेरीमा भर्ना गरिएको थियो । उनको राती साढे ११ बजे मृत्यु भएको छ ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय ७० जनाको मृत्यु भएको छ । बाँके जिल्ला निवासी ३ सय ११ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण कम भइरहे पनि अझै मृत्यु रोकिएको छैन ।