उता पक्की सडक, यता बासको तटबन्ध

नेपालगञ्ज – नरैनापुरको भगवानपुर बासको तटबन्ध बनाइएको छ । राप्ती नदीको बाढी रोक्न कतै बासको त कतै जालीमा ढुंगा भरेको तटबन्ध देख्न सकिन्छ ।
यो अस्थायी तटबन्धले गाउँलाई डुवानबाट बचाउने आशा गरिएको छ । बाढी आएमा गाउँ जोखिने अवस्था देखिदैन । त्यसो त २०७१ सालको बाढीले तल्लो क्षेत्रका चार सय घरधुरीलाई उठिबास लगाइसकेको छ । अलि माथि रहेका घरहरुलाई बचाउन कतै ढुंगा त कतै बासको तटबन्ध बनाइएको छ ।
सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती नदीमा तटबन्ध बनाइरहेको छ । यो भगवानपुर गाउँसम्म पुगिसकेको छैन । अहिलेसम्म ठाउँ–ठाउँमा गरेर १७.५ किलोमिटर तटबन्ध बनेको छ । काम युद्धस्तरमा हुन सकिरहेको छैन ।
२०७१ मा ठूलो बाढी आयो । २०७४ मा पनि बाढी आयो । त्यसपछि राप्ती नदीमा ठूलो बाढी आएको छैन । बाढी नआएपनि बर्खामा तटीय क्षेत्रका बासिन्दाको ढुकढुकी बढ्ने गर्दछ । राप्ती नदीमा राम्रो तटबन्ध बन्न नसकेकाले तटीय क्षेत्रका बासिन्दाको डुवानमा पर्ने चिन्ता वर्षेनी हुने गर्दछ । बासको तटबन्ध भएको ठाउँका बासिन्दा नडराउन् पनि कसरी ?
भगवानपुरका कैलाश तिवारी भन्नुहुन्छ, ‘पक्की तटबन्ध बनाइदिए हामीलाई डुवानको डर हुन्थेन । बासको तटबन्ध छ । यसले कहाँबाट बाढी छेक्छ र ?’


नेपाली गाउँमा यस्तो अस्थायी तटबन्ध रहदा भारतले दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ । राप्ती नदीमा लक्ष्मणपुर बाँध बनाएर नदीको पानी रोकिएको छ । नदीको अन्य भंगालोसँगै अरु खोला नालाको बहाव रोक्न भारतले दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ । भारतले पानी रोक्न पक्की तटबन्ध बनाउदा नेपालतर्फ भने बासको अस्थायी तटबन्ध रहेको छ ।
भारतले लक्ष्मणपुर बाँध र कलकलावा तटबन्धका साथै दशगजामै सडकजस्तो बाँध बनाएपछि नदीको प्राकृतिक बहाव रोकिएको छ । त्यसले गर्दा नदीले धार परिवर्तन गरिरहेको छ । सात वर्षअघिसम्म भगवानपुर गाउँबाट राप्ती नदी तीन किलोमिटर टाढा थियो । अहिले एउटा भंगालो गाउँछेउमै रहेको छ । मूल नदी पर पुगिसकेको छ । होलियाको पिप्रहवा, टेपरीका बासिन्दालाई राप्ती नदी मोडिएपछि अलि डर कम भएको छ । अहिले त्यहाँ नजिक डुडुवा नाला बगिरहेको छ । राप्तीको मूल नदी टाढा पुगिसकेको छ ।
राप्ती नदीले धार परिवर्तन गरिरहदा कहिले कुन गाउँ जोखिममा पर्छ भन्न सकिने अवस्था छैन । सात वर्षअघिसम्म होलियाको पिप्रहवा, टेपरी, कृषि चौफरीमा सिधै राप्ती नदी ठोक्किन्थ्यो । नदीले धार परिवर्तन गरिरहदा राम्रो खाद्यान्न उत्पादन हुने ठूलो भूभाग मरुभूमि बनिरहेको छ । सरकारले छिटो भन्दा नदीको दुवै किनारमा पक्की तटबन्ध नबनाएसम्म तटीय क्षेत्रका बासिन्दालाई डुवानको चिन्ता रहिरहने छ । बासको तटबन्ध बनाएर डुवान रोकिनेवाला छैन । भारतले दशगजामै पक्की तटबन्ध बनाउदा नेपालले पनि त्यही प्रकारको बलियो संरचना बनाउन जरुरी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !