गाउँमा बग्छ नदी

गाउँको बीचमा रहेको कुवा । अहिले नदीछेउमै परेको छ ।

नेपालगञ्ज – चार सय घरधुरी थियो । खानेपानीका लागि गाउँमा कुवा खनियो । अहिले त्यो चार सय घर भएको गाउँमा राप्ती नदी बग्छ । घरहरु अन्यत्र सारियो, ती घरका मानिसलाई खुवाउन खनिएको कुवा अहिले पनि नदी किनारमै छ ।
यो बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५, भगवानपुरको कथा हो । स्थानीय कैलाशप्रसाद तिवारी भन्नुहुन्छ, ‘२०७१ सालमा राप्ती नदीले धार परिवर्तन गरेपछि गाउँको उठिबास लाग्यो । गाउँमा अहिले राप्ती नदी बग्छ ।’
दुर्गाप्रसाद श्रीवास्तव, तैयव पठान खाँको घरछेउमै रहेको कुवा अहिले नदी किनारमा परेको छ । श्रीवास्तव र पठानको घरको त्यहाँ नामो निसान छैन ।
कैलाशको १७ कठ्ठा जमिनमा अहिले नदी बग्छ । पहिला नदी तीन किलोमिटर टाढा थियो । २०७१ सालमा ठूलो बाढी आउदा नदी गाउँतिर आइपुग्यो । नदीले धार परिवर्तन गर्नुमा भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधको कारणले हो भन्नुहुन्छ श्रीवास्तव । भारतले सन् १९८५ देखि शुरु गरेर १९९० मा राप्ती नदीमा एकतर्फी रुपमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेको छ । त्यसका अलावा केही वर्षयता दशगजामै सटाएर सडकजस्तो बाँध बनाएको छ । जसले राप्ती नदी तथा स्थानीय खोलाहरुको पानीको बहावलाई रोकिदिंदा बाँकेका आधा दर्जन गाउँहरु वर्षेनी डुवानमा पर्दै आएको छ ।
श्रीवास्तवसँग अहिले डेढ विगाह जमिन छ । गाउँमा नदी नपस्दा श्रीवास्तवले वर्षेनी दश क्वीन्टल धान, गहुँ बेच्नु हुन्थ्यो । अहिले बेच्नु त परा जाओस् खाना नै ठिक्क हुने गरेको श्रीवास्तव बताउनुहुन्छ ।
‘पहिला धान, गहुँ बेच्थे । अहिले खाना ठिक्क हुन्छ, श्रीवास्तवले भन्नुभयो, खेत नदी बनेपनि राजश्व भने तिरिरहेको छु ।’
श्रीवास्तव सम्झिनुहुन्छ, ‘पहिलो रमाइलो गाउँ थियो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध र तटबन्ध बनाइदिएपछि गाउँ नै नदी बन्यो । हाम्रो गाउँ नै तहसनहस भयो । मान्छेको उठीबास लाग्यो । डेढ सय बढी घर स्थानीय गणपति सामुदायिक वनमा बसेका छन् ।’
दुर्गाप्रसाद श्रीवास्तवको दश विगाह, मिनराज तिवारी, नन्दकिशोर तिवारी, मुर्तजा खाँको दुई÷दुई विगाह, तैयव पठान खाँको एक विगाह जमिन खोलामा परेको छ । तैयव र मुर्तजा हुकुम्मबासीबाट सुकुम्बासी भएका छन् । दुर्गाप्रसाद श्रीवास्तवले नदीले हजार विगाह जमिन कटान गरेको बताउनुभयो ।
लक्ष्मणपुर बाँधले गर्दा धेरै क्षति पुगेपछि सन् २००३ मा भारतले राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । त्यो आश्वासन अहिलेसम्म पूरा गरेको छैन । भारतले लक्ष्मणपुर बाँध बनाएपछि बाँकेका ६ हजार बढी मानिस विस्थापित भइसकेको बाढीपीडितको सवालमा काम गरेको फियान नेपालको तथ्यांक छ ।
भारतले तटबन्ध बनाउन आलटाल गरेपछि सरकारले जनताको तटबन्ध कार्यालयमार्फत १७.५ किलोमिटरमा तटबन्ध गरेको छ । यो विस्तारकै क्रममा रहेको छ । दिन त अहिले पनि भारतले राप्ती नदीको बाया २२.१५ र दाया २३.२५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिइरहेको छ । यो पछिल्लो कामका लागि टेण्डर प्रक्रिया शुरु हुन थालेको जनताको तटबन्धका इन्जिनियर महेशराज श्रेष्ठले बताउनुभयो । यसका लागि भारतले नौ अर्ब दिने बताएको छ ।
विगतको वर्षजस्तै यो वर्ष पनि बर्खामा बाढीको खतरा रहेको छ । भगवानपुरका स्थानीय बासिन्दा पक्की तटबन्ध छिटो भन्दा छिटो बनेमा बचेको गाउँ जोखिने बताउँछन् । ‘वर्षेनी नदीले कटान गरिरहेको छ । छिटो भन्दा छिटो तटबन्ध बनाइएन भने हाम्रोमात्रै होइन, तटीय क्षेत्रका धेरै गाउँको नामो निसान रहदैन, दुर्गाप्रसाद श्रीवास्तवले भन्नुभयो ।
फियान नेपालले १२ वर्षदेखि डुवान, कटान र पटानको समस्याविरुद्ध आवाज उठाउदै आएको थियो । स्थानीय पीडितहरुमा समूह बनाएर आधा दर्जन बढी प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्म लक्ष्मणपुर बाँध पीडितको समस्या पु¥याएको थियो । यस्तो प्रत्यक्ष जोडिएर गर्ने कामबाट आफूहरु बाहिगर्मन भएको फियानका कर्मचारी प्रकाश नेगीले बताउनुभयो । फियानका कोषाध्यक्ष झविन्द्र भट्टराई, सुरेश गौतमको टोलीले समुदायमै पुगेर बहिर्गमनको कार्यक्रम गरेका छन् । त्योसँगै प्रदेश सांसद कृष्णा केसी नमूना, राष्ट्रिय मानवअधिकार आयोगका झंकर रावलसहितको टोलीले भारतले दशगजामा बनाएको सडकजस्तो बाँध र जनता तटबन्धले राप्ती नदीमा बनाएको तटबन्धको अवलोकन गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !