कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

नेपालगञ्ज – कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकाले चिकित्सकसँग परामर्श गरेको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकसँग परामर्श गर्नुभएको हो ।
छलफलका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएको छ । वडाका स्वास्थ्य फोकलपर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् ।
रामलिला मैदानस्थित आइसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।
छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । त्यसका लागि शनिबार वडाका स्वास्थ्यकर्मी र चिकित्सकबीच समन्वयात्मक छलफल गरिने भएको छ । चिकित्सकहरुले संक्रमितहरुको स्वास्थ्यमा समस्या भएमा छिटो भन्दा छिटो उपचारमा जानुपर्ने बताए । १४ दिनपछि पुनः पीसीआर नगर्न र एन्टिजिनपछि पनि पुनः पीसीआर परीक्षण आवश्यक स्वास्थ्यकर्मीहरुले बताए ।
छलफलमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पूर्व प्रमुख डा. श्यामसुन्दर यादव, डा. राजन पाण्डे, डा. रोमा बोहरा, डा. पारस श्रेष्ठ, डा. राहुल थापालगायतको सहभागिता रहेको थियो ।
नेपालगञ्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल केन्द्रीत भएको थियो । अस्पतालका लागि कम्तिमा एउटा अक्सिजन लिक्विड ट्यांक आपतकालिन समयमा प्रयोग गर्नका लागि सिल गरेर राख्ने र त्यसका लागि जिल्ला प्रशासनमा अनुरोध गर्ने सहमति भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !