उपमहानगरपालिकामा ६ हजार संक्रमित, थपिदै आइसोलेसन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका करिव ६ हजार जनामा कोभिड संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार, दुई हजार ५ सय ६९ महिला र तीन हजार ३ सय ८२ जना गरी ५ हजार ९ सय ६१ जनामा कोभिड संक्रमण देखिएको छ । कोभिड भएकामध्ये एक हजार ४ सय ९१ महिला र दुई हजार १ सय ३० जना पुरुष गरी तीन हजार ६ सय २१ जना डिस्चार्ज भएका छन् ।
उपमहानगरपालिकामा कोभिडबाट हालसम्म १९ महिला र २४ पुरुष गरी ४३ जनाको मृत्यु भएको छ ।
आइतबारसम्म एकहजार १ सय ७२ जना महिला र एक हजार ३ सय ३७ जना पुरुष गरी दुई हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु सबै बैशाख ९ गतेपछि संक्रमण देखिएका हुन् । कोरोना रोकथाम र नियन्त्रणका लागि नगरभित्र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख डा. धवलशमशेर राणाले बताउनुभयो ।
उपमहानगरपालिकाले ह्वाइटहाउसमा सामान्य आइसोलेसन र रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । आइसोलेसनमा चिकित्सकसहितको दक्ष जनशक्तिको व्यवस्थापन गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । शंकास्पद ब्यक्तिको पीसीआर परीक्षणको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । जमुनाहमा होल्डिङ सेन्टरका लागि समन्वय गरिएको छ । जमुनाहमै हेल्थडेस्क सञ्चालन गरिएको हो ।
होम आइसोलेसनमा बस्नेहरुका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । भेरी अस्पतालमा विरामी कुरुवाहरुको सहजताका लागि खानाको व्यवस्थापन गरिरहेको अञ्जनीमाता रसोईलाई मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ ।
कोभिडका विरामी ल्याउनलैजान निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको भन्दै उपप्रमुख मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
यसैबीच, उपमहानगरपालिकाले तेस्रो आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले वालमन्दिरको सभाहलमा आइसोलेसन केन्द्र निर्माण गर्ने भएको हो । नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा आइतबार कोभिड–१९ महामारीको राकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आइसोलेसन बनाउनका लागि त्यसको मर्मत सम्भार र रंगरोगनाका लागि आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !