रातभरीमा ६ जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतकहरु बाँकेका तीन, दाङका २ र कपिलबस्तुका एकजना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । बैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यसअघि नै मृत्यु भइसकेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज, कोहलपुरमा राती साढे नौ बजे मृत्यु भएको छ । बैशाख १५ गते भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो ।
नेपालगञ्ज मेडिकल कलेजमा कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गएराती १० बजे उनको मृत्यु भयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका विरामीको राती ४ बजे मृत्यु भएको छ ।
मेडिकल कलेज, कोहलपुरमा कोहलपुर नगरपालिका वडा नं. ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १० गते कोहलपुरमा भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो । राती १२.३० बजे उनको मृत्यु भयो ।
दाङ दंगीशरण गाउँपालिका वडा नं. १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । बैशाख ८ गते भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो । राती ४ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ भने यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय १७ जना पुगेका छन् ।