एकै दिन तीन जना संक्रमितको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा अढाई घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलफर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया र दैलेख जिल्लाका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।
बर्दिया राजापुर नगरपालिका वडा नं. १ का ७३ वर्षीय पुरुषको गएराती ७ बजे मृत्यु भयो । उनी बैशाख २ गते अस्पतालमा भर्ना भएका थिए ।
भेरीमै ७ बजेर ४० मिनेट जादा बाँकेका ७८ वर्षीया महिलाको मृत्यु भयो । बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ की महिलालाई चैत्र ३१ गते मेडिकल कलेजमा ल्याइएको थियो । पोजिटिभ रिपोर्ट आएपछि बैशाख १ गते भेरी अस्पतालमा सारिएको थियो ।
गएराती नै ९.३० बजे दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. १ का ६८ वर्षीया महिलाको मृत्यु भएको छ । चैत्र ३० अस्पताल आएकी उनलाई ३१ गते पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि भेरीमा भर्ना गरिएको थियो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ९६ जनाको मृत्यु भइसकेको छ भने जिल्लाका ६० जनाको मृत्यु भएको छ ।