आइतबारदेखि विद्यालय बन्द


नेपालगञ्ज – नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि एक साता बन्द हुने भएका छन् ।
जिल्ला कोभिड-१९संकट व्यवस्थापन केन्द्र, बाँकेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि उपमहानगरपालिकले शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।
नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !