बत्ती बोल्यो, गाउँले नाचे
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. ३ मा बुधबार बत्ती बलेको छ ।
गाउँपालिकाको अध्यक्ष लाहुराम थारुको गाउँसमेत रहेको वडा नं. ३ मा बत्ती बल्दा गाउँलेहरु खुशीले नाचेका छन् ।
गाउँपालिकाले करिव चार करोड रुपैया खर्च गरेर एक हजार तीन सय घरधुरीमा बत्ती पु¥याएको छ । नारायणपुरको चोकको पोलमा राखिएको बटन र स्थानीय मधुकर केसीको घरमा स्वीच अन गरेर बत्तीको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विद्युत कार्यालय, नेपालगञ्जका इन्जिनियर सुरेश तिमिल्सेनाले बत्तीको बटन अन गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष थारुले विद्युतीकरणका लागि १२ वर्षसम्म ठेकेदारले काम नगरेपछि आफै त्यसका लागि कस्सिएको बताउनुभयो । ‘६ महिना काम गर्दा नै बत्ती बाल्न सकियो, अध्यक्ष थारुले भन्नुभयो, मैले गरेको बाचा पूरा गरे ।’
एक हजार तीन सय घरधुरीमध्ये बुधबार १० वटा घरमा बत्ती बलेको छ । अरु घरले मिटरबक्स राख्नेलगायतका काम गर्दैछन् । गाउँमा बत्ती बलेपछि स्थानीयवासी खुशीले नाचेका छन् । गाउँमा करिव एक किलोमिटर बाजा बजाउदै परिक्रमा गरिएको थियो । त्यसपछि आयोजित औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, स्थानीय अगुवाले खुशी साटासाट गरे ।