रासायनिक मलले भरियो, गोदाम

नेपालगञ्ज – अन्नको भण्डारको रुपमा रहेका बाँके र बर्दियाका किसानले यो बर्ष पनि धान र गहुँको सिजनमा रासायनिक मल पाएनन् । धान खेतीका लागि असार साउन र गहुँ तथा तोरी खेतीका लागि कार्तिक महिनामा किसानलाई रासायनिक मल आबश्यक पर्छ ।
यो बर्ष धान र गहुँको सिजनमा मलको हाहाकार नै भयो । मागको करिब ५० प्रतिशत मात्रै मल किसानले बडो मुस्किलले पाए ।
सिजनका बेला कृषि सामाग्री कम्पनीका गोदामहरु खाली हुन्थे । त्यहि खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे ।
तर हिजो आज कृषि सामाग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन् । प्राय सधैं खाली हुने गोदामहरु रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामाग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले कम्पनीको गोदाममा करिब १३ सय टन रासायनिक स्टक छ ।
रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थाहरुलाई मागे जति रासायनिक मल दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका ब्यबस्थापक रमजान अलि इद्रिसीले बताउनुभयो ।
पछिल्ला दिनहरुमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मल प्रतिको निर्भरता बढ्दै गएको छ । रासायनिक मलको अभाबका कारण कृषि उपजहरुको उत्पादन समेत प्रभाबित हुँदै आएको छ । अहिले किसानलाई हिउँदे मकैका लागि मल आबश्यक छ ।
धान र गहुँको सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिनहरुमा युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीहरुले मागे अनुसार नै मल बितरण गरिरहेको कृषि सामाग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताउनुभयो ।
अहिले आएको मल आगामी बर्षको धानको सिजनमा बितरण गर्ने तयारी कम्पनीको छ ।
बाँकेका ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । बाँकेमा धान खेतीका लागि ३५ सय मेट्रिक टन युरिया, १५ सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल आबश्यक पर्छ ।
त्यसैगरी, बाँकेमा करिब १८ हजार हेक्टरमा गहुँ खेती हुन्छ । गहुँ खेतीका लागि २५ सय मेट्रिक टन युरिया, १५ सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल आबश्यक पर्छ ।


error: यो सुविधा उपलब्ध छैन !