पीएम कप भलिबल : एपीएफ र पुलिस विजयी

नेपालगञ्ज – नेपालगञ्जको रंगशालामा सञ्चालन भइरहेको सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिस विजयी भएका छन् ।
एपीएफले त्रिभुवन आर्मी र पुलिसले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो । पहिलो खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २६–२४ ले जिते पनि त्यसपछि आर्मी तीन सेट लगातार पराजित भयो । एपीएफले २५–२३, २५–१६ र २५–२३ मा आर्मीलाई पराजित गरेको थियो ।
खेलमा एपीएफकी निरुता ठगुन्ना ओमन अफ म्याच भइन् । उनलाई अन्तर्राष्ट्रिय रेफ्री अजित शर्मा र वेष्टर्न अस्पतालका निर्देशक राहुल थापाले पुरस्कृत गरे ।


दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित ग¥यो । पुलिसको यो दोस्रो जीत हो । जीतसँगै पुलिस लिगको शीर्ष स्थानमा पुगेको छ ।
पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ ले पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन पुलिसको अगाडि लुम्बिनी कमजोर देखिएको थियो ।
खेलमा पुलिसकी उषा भण्डारी ओमन अफ म्याच भइन् । उनलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी र भायोनेटका शाखा प्रमुख भानु रेग्मीले पुरस्कृत गरे ।
लुम्बिनीका प्रशिक्षक भीम डाँगीले सेट अभ्यास बिना नै आएपनि प्रतियोगितामा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताए । लुम्बिनीमा रुपन्देही, दाङ र बाँकेका खेलाडी छन् ।
पुलिसका प्रशिक्षक रुपेश विष्टले लुम्बिनी अलि कमजोर टीम भएकाले नयाँ खेलाडीलाई मौका दिएको बताए ।
प्रतियोगितामा आइतबार लुम्बिनी र एपीएफ तथा न्यू डायमण्ड र आर्मीका बीचमा खेल हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !