गोला प्रक्रिया चल्दा मुटु काँपिरह्यो

तत्कालीन पुनरावेदन अदालत बार एसोसिएसन नेपालगन्जको कार्यसमितिको निर्वाचन २०६४ वैशाख ८ मा हुने तय गरियो । प्रगतिशील समूहबाट वासु दाइ (वासुदेव ज्ञवाली) ले उम्मेदवारी पाउने निश्चित थियो । पहिलो कार्यकालमा पनि अध्यक्ष पदमा झिनो मतले मात्रै पराजित भएका वासु दाइलाई सबै कानुन व्यवसायीले मन पराउँथे । उनी बलियो उम्मेदवार थिए ।
प्रजातान्त्रिक समूहमा वासु दाइसँग प्रतिस्पर्धा गर्न सक्ने बलियो उम्मेदवारको खोजी भइरहेको थियो । प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिने कानुन व्यवसायीका नाम पनि चर्चामा आएका थिए । म भर्खरै सचिव पदमा रहेको, घरको आर्थिक अवस्था मजबुत नभएको र कन्चन बिरामी भएका कारण अध्यक्ष पदमा उम्मेदवारी दिने मेरो कुनै इच्छा, आकांक्षा र चाहना केही थिएन । मैले यो कुरा अग्रजहरूलाई जानकारी गराइसकेको थिएँ ।
उम्मेदवार छनोटका लागि प्रजातान्त्रिक समूहको बैठक बस्यो । बार कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिन चाहने इच्छुक कानुन व्यवसायीको नाम सङ्कलन गरियो । आफू इच्छुक पदमा उम्मेदवारी दिन चाहेको आधार र कारण उल्लेख गर्दै नाम लेखाउन भनिएको थियो । आर्थिक र घरायसी समस्याहरूले गर्दा मैले कुनै पनि पदका लागि नाम लेखाइनँ ।
‘तिमीले किन आफ्नो नाम अध्यक्ष पदका लागि नलेखाएको ?’ अग्रजहरूले प्रश्न गर्नुभयो ।
मैले पुनः मेरो समस्या दर्शाउँदै यसपटक अरु साथीहरूलाई अवसर दिँदा उपयुक्त हुने विनम्र अनुरोध गरेँ । अग्रजहरूले मेरो अनुरोधलाई स्वीकार गर्नुभएन । सङ्गठनले गरेको निर्णय तिमीले मान्नैपर्छ पो भन्न थाल्नुभयो । मैले यही कुरा घरमा गएर कन्चनलाई सुनाएँ । उनले पनि बारको राजनीतिमा नलाग्न सुझाव दिइरहेकी थिइन् ।
मैले जति आग्रह गरे पनि प्रजातान्त्रिक समूहले अध्यक्ष पदका लागि मलाई नै उम्मेदवार बनाउने निर्णय गरेछ । कुनै इच्छा र चाहना नभए पनि सङ्गठनको निर्णयलाई शिरोधार्य गर्दै म निर्वाचनमा होमिन बाध्य भएँ । म र वासु दाइ दुवैलाई मन पराउने कानुन व्यवसायी धेरै थिए । प्रचारप्रसारमा जाँदा पनि मतदाताले यसपटक धर्मसङ्कटमा परियो भन्थे । बारको निर्वाचनमा पहिल्यै कडा प्रतिस्पर्धाको आकलन गरिएको थियो ।
मतदान सम्पन्न भयो । अध्यक्ष पदमा म र वासु दाइका बीचमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने सुरुदेखि नै आकलन गरिएको थियो । ३ सय ३४ मतदातामध्ये २ सय ९७ मत खसेको थियो । मतगणनाको सुरुवातदेखि नै हाम्रो मत २४-२६, ५०-५०, ७४-७६ गर्दै लगभग बराबरीको अनुपातमा बढिरहेको थियो । यस प्रकारको मतगणना मतदाताका लागि रोचक थियो । उम्मेदवारका लागि भने मुटुको धड्कन बढाउने खालको थियो । अन्तिम मतगणना परिणाम झन् रोचक बन्यो, जब दुवै उम्मेदवारको मत १४७-१४७ आयो । हामी सबै आश्चर्यचकित भयौँ । अब के गर्ने ? गोला प्रथामा जाने, पुनः मतगणना गर्ने वा पुनः मतदान ? यस विषयमा दुवै पक्षबीच छलफल सुरु भयो ।
मतदाताको सम्मान, मतको कदर र अवसरलाई दृष्टिगत गरी एक-एक वर्ष चलाउने सहमति गर्दा उपयुक्त हुन्छ भन्ने मेरो प्रस्ताव थियो । सो प्रस्तावमा हाम्रो सङ्गठन सहमत भएको थियो । पहिलो वर्ष कसले चलाउने भन्ने विषयमा समेत छलफल भयो । मलाई त जुन वर्ष भए पनि हुन्छ भनेकामा पछि पदको औचित्यता, महङ्खवसमेतलाई दृष्टिगत गर्दा पहिलो वर्ष आफैँले लिनु पर्छ भन्ने सुझाव आएपछि पहिलो र दोस्रो वर्ष कार्यकालका लागि गोला हालौँ भन्ने प्रजातान्त्रिक समूहको प्रस्ताव प्रगतिशील समूहले मानेन । गोला हाल्ने नै हो भने पूरै कार्यकालका लागि हाल्ने भनेपछि हाम्रो केही सीप लागेन । चुनावी छिनोफानोलाई हामीले पनि स्वीकार गर्नैपर्ने भयो । अन्ततः हामी दुवै उम्मेदवारले गोलाप्रथालाई स्वीकार्ने सहमति ग¥यौँ ।
चुनाव प्रचारप्रसार, मतदान, मतगणनाको समयमा भन्दा गोला प्रक्रिया झन् कठिन हुँदो रहेछ । अरुको गोला प्रथा गर्दा उत्सुकता जाग्थ्यो । आफैँलाई पर्दा त मन ढुकढुक हुँदो रहेछ । त्यो प्रत्यक्ष अनुभव पनि गर्न पाइयो । प्रमुख निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुली (गुरुदेव) ले हार÷जितको गोला तयार पार्नुभयो । हामी दुई उम्मेदवार र दुवै पक्षका नेतृत्वलाई रोहवरमा राखेर बन्द कोठामा गोलाप्रथाको प्रक्रिया सुरु गरियो । मेरो मन–मुटु थरथर काँपिरहेको थियो । हामी उम्मेदवारबाहेक अरु कानुन व्यवसायी भने हाँस्दै रमाइलो गरिरहेका थिए । लक्ष्मण सरले दुईवटा गोला अलि माथिबाट टेबलमा फाल्नु भयो । उक्त गोलाहरू सामान्य रूपमा नाचेर अगाडि बढे । अब के गर्ने ? कुन समाउने ? सोचिरहेको बेला शालिकराम सापकोटा दाइले ‘वासु तिम्रो भाग्य दौडेर तिमीतिर आउँदैछ समाउ’ भनेको आवाज सुनें । त्यही गोला वासु दाइले समात्नुभयो । अर्को गोला स्वाभाविक रूपमा मैले उठाउनु पर्ने भयो । उक्त परिदृश्य अहिले पनि मेरो मानसपटलमा झल्झली आउँछ । त्यो घटना यति गहिरोसँग मनमस्तिष्कमा बसेको छ कि अझै पनि कहिलेकाहीँ म गोला तानेको सपना देख्छु । वासु दाइले समातेको गोला खाली देखियो । शौभाग्यले ‘विजयी’ लेखेको गोला मेरो भाग्यमा परेको थियो । म हर्षविभोर हुँदै उफ्रँदै बाहिर निस्केँ । सबैलाई बधाई र धन्यवाद दिएँ । वास्तवमा मतदाताले हामी दुवै जनालाई समान मत दिएका थिए । त्यसैले वासु दाइसँग अङ्कमाल गर्दैै हामी दुवैले जितेका हौँ भन्दै आभार व्यक्त गरेँ ।
अध्यक्ष पदमा गोला प्रक्रियाबाट हारजित कमै अवस्थामा हुन्छ । मैले जानेबुझेसम्म बारको इतिहासमा अध्यक्ष पदका लागि गोला प्रक्रिया त्यसअघि कहिल्यै अवलम्बन गर्नुपरेको थिएन । मतदाताको चाहना र आवश्यकतालाई मध्यनजर राखी हामीले एक-एक वर्ष कार्यकाल चलाएको भए हामी दुवैको र मतदाताको जित हुन्थ्यो जस्तो लाग्छ । बार एसोसिएसन अझ बढी प्रभावकारी हुन्थ्यो । मलाई अभैm पनि एक÷एक वर्षकै निर्णय उपयुक्त थियो भन्ने लाग्छ । मतले जितेर पनि प्राविधिक (गोला) कारणले हार्दा वासु दाइलाई के कति पीडा र चिन्ता भयो होला, म सहजै अनुमान गर्न सक्छु ।
कार्यकारी पदमा रहेकै अवस्थामा अर्को कार्यकाल दोहो¥याउन उम्मेदवारी दिनु घातक हुँदोरहेछ । अन्य सङ्घसंस्थाका निर्वाचनले पनि सो कुरा प्रमाणित गरेको छ । कार्यकारी पदमा रहँदा सबैको भावनाको कदर गर्न सकिएको हुँदैन । चाहेर पनि सबैलाई समान अवसर दिन गाह्रै पर्छ । यी र यस्तै व्यावसायिक एवं राजनीतिक कारणले मतदाताहरूमा असन्तुष्टि फैलिँदै जाँदो रहेछ । आफ्नै समूहमा पनि एउटै व्यक्तिलाई पटक–पटक अवसर दिँदा आकाङ्क्षीहरू असन्तुष्ट हुन्छन् । जसको प्रत्यक्ष प्रभाव मतदानमा पर्ने गर्दछ । बारको निर्वाचनमा नातागोता, क्षेत्र, सम्बन्ध आदिले पनि प्रभाव पार्ने गर्दछ । सचिव पदमा निर्वाचित हुँदा राम्रो मतले विजयी भएको मैले अध्यक्ष पदमा गोला तान्नुपर्ने परिस्थिति आयो । यसबाट के सिद्ध हुन्छ भने मतदाताले मबाट गरेको आशा र अपेक्षा सचिव पदमा हुँदा पूरा गर्न सकेको रहेनछु भन्ने स्वमूल्याङ्कन गरेँ ।
गोलाबाट विजयी भएका कारण कतिपयले पछिसम्म पनि ‘गोले अध्यक्ष’ भने । भन्न जति सजिलो छ, कार्यकारी पदमा बसेर जिम्मेवारी निर्वाह गर्न त्यसभन्दा धेरै गुणा गाह्रो हँुदोरहेछ । भाडाको बसाइ, पारिवारिक तथा आर्थिक अवस्था, व्यावसायिक अवस्थासमेतलाई हेर्दै बारको नेतृत्व सम्हाल्नु मेरा लागि कठिन समय थियो । यिनै कारणले म उम्मेदवारी दिन अनिच्छुक थिएँ । तर, परिस्थितिले मलाई अध्यक्ष बनाएर छाड्यो ।
पुनरावेदन अदालत बार एसोसिएसनलार्ई अदालतले दिएको अफिस कोठासहितको भवन भत्काइएपछि हामी विस्थापित भयौँ । जिल्ला अदालत बार एसोसिएसन जिल्ला अदालतको नयाँ भवनको एउटा कोठामा सीमित थियो । जिल्ला बारसँगै काम गर्न मिल्ने अवस्था थिएन । जिल्ला अदालतसँग अनुरोध गरी केही दिन हामीले जिल्ला अदालतको सभाकक्षसँगै सटेको सानो कोठामा कार्यालय सञ्चालन गर्न माग गरेका थियौँ । तर, कार्यक्रम गर्ने र बैठक बस्ने ठाउँ थिएन । बैठक वा कार्यक्रम गर्नुप¥यो भने जिल्ला अदालतको बैठक कक्ष मागेर प्रयोग गर्नुपथ्र्यो । बारको अर्को कुनै साधन स्रोतसमेत थिएन ।
यी सारा कठिनाइलाई देखेर संस्था सञ्चालन गर्न आफ्नै भवन र साधनस्रोत चाहिँदो रहेछ भन्ने निष्कर्षमा हामी पुग्यौँ । सबै कानुन व्यवसायीको सहयोग र सल्लाहमा बार भवन निर्माणलाई प्राथमिकतामा राखियो । साधारणसभा गरी सम्पूर्ण कानुन व्यवसायीको म्यान्डेट लिने काम गरियो । केही नियमित आयस्रोतको प्रक्रिया अगाडि बढायौँ । आईआरसी नामक अन्तर्राष्ट्रिय संस्थाबाट बार सञ्चालन गर्न आवश्यक पर्ने लाखौँका सामान (किताब, फर्निचर, ल्यापटप, मोटरसाइकलसमेत) प्राप्त भयो । सबैको सहयोग र सहकार्यबाट बार भवन बन्यो र २०६५ असार ३० गते उद्घाटन भयो । आफ्नै भवनमा प्रवेश गरेर संस्था सञ्चालन गर्ने अवसर हामीलाई प्राप्त भयो ।
बारप्रति मेरो औधि प्रेम छ । बार भवन निर्माणमा प्रत्यक्ष सहभागी भएका कारणले हो वा बारको जिम्मेवारीमा रहेकाले, बार सक्षम, सुदृढ र आत्मनिर्भर होस् भन्ने मेरो चाहना छ । नवोदित कानुन व्यवसायीलाई व्यवसायमा आकर्षित गर्न र व्यावसायिक कठिनाइसँग सामना गर्न प्रत्येक शुक्रबार अन्तर्राक्रिया कार्यक्रम गर्ने र कानुन व्यवसायी कल्याणकारी कोष स्थापना गर्न त्यतिबेलै सुरुवात गरिएकामा अभैm पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । बार भनेको हरेक कानुन व्यवसायीको अभिभावकजस्तै हो । कानुन व्यवसायीको हकहित र दुःखको समयमा सारथि बन्न बारको अहम् भूमिका हुन सक्छ ।
मैले आफ्नो कार्यकालमा कानुन व्यवसायीका हकहितका धेरै काम गर्न सकिनँ । अध्यक्ष पदको नेतृत्व सम्हाल्दा म नवोदित नै थिएँ, पेसामा समेत परिपक्वता थिएन, सायद त्यसै कारणले होला । अहिले पछुतो पनि लाग्छ । अवसर दिइयो भने सबैले नेतृत्व गर्न सक्छन् । पेसा व्यवसायप्रति इमानदार, अनुभवी, साहसी, कानुन व्यवसायीलाई नेतृत्व दिइयो भने बारले अझ धेरै राम्रा र उपयोगी काम गर्न सक्छ भन्ने मेरो विचार रहेको छ ।

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट लिइएको अंश हो यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तक पढ्न चाहेमा ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !