बागेश्वरीबाट शुरु भयो, ‘टुर दि ठाकुरद्वारा’
नेपालगञ्ज – नेपालगञ्जको बागेश्वरी मन्दिरबाट ‘टुर दि ठाकुरद्वारा’ शुरु भएको छ ।
बाँके र बर्दिया जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि सञ्चालन गरिदै आएको ‘टुर दि ठाकुरद्वारा’ को पर्यटन बोर्डको कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गर्नुभयो । रेग्मी, राणा र गुरागाईले पर्यटन क्षेत्रको पहिचान र प्रचार प्रसारका लागि ‘टुर दि ठाकुरद्वारा’ले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।
‘टुर दि ठाकुरद्वारा’ को यो तेस्रो संस्करण हो । तेस्रो संस्करणमा नेपाल र भारतका एक सय ५० जना साइकलयात्री सहभागी भएका छन् । विश्व साइकलयात्री पुष्कर शाहले टोलीको नेतृत्व गर्नु भएको छ ।
बागेश्वरीबाट शुरु भएको साइकलयात्रा बाँकेको जानकी, खजुरा गाउँपालिका हुँदै बर्दियाको बढैयाताल, गुलरिया, मधुवनको डल्ला होमस्टे भएर ठाकुरद्वारा पुग्नेछ । भोली विहान ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, नेपालकै लामो पुल गुरुवा कर्णालीको घुमेर साँझ थारु सांस्कृतिक कार्यक्रम गरिने छ । २५ गते बबई हुँदै सत्खलुवातालको अवलोकन गर्दै बाँसगढी नगरपालिकामा रहेको ओम केदारेश्वर धाममा आइपुगेर ‘टुर दि ठाकुरद्वारा’ समापन हुने कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।