मेयर राणाको एक महिनाको तलव लाठी समितिलाई

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले एक महिनाको तलबभत्ता जयश्रीराम स्पोर्टसद्वारा सञ्चालित जय श्रीराम शक्ति दल लाठी समितिलाई दिनु भएको छ ।
नगर प्रमुख राणाले एक महिनाको तलबभत्ता बापतको चेक समितिका अध्यक्ष राजकुमार बैश्यलगायतलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा राणाले आफुलाई खान लाउन पर्याप्त भएको भन्दै राज्यले दिएको सुविधा जनतालाई फिर्ता गरेको बताउनुभयो । दुई दशकअघि पहिलो कार्यकालमा समेत आफुले तलब भत्ता यसरी नै सहयोग गरेको स्मरण गर्नुभयो । ‘अहिले आम जनतामा राजनीतिक दलका नेताप्रति नकारात्मक धारणा छ, राणाले भन्नुभयो, म राजनीतिमा रहुञ्जेल राज्यबाट प्राप्त हुने सेवा सुविधा यसरी नै जनतालाई फिर्ता गर्नेछु ।’
कार्यक्रममा राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, समितिका सुशीलकुमार कमलले मेयरले तलब भत्ता सहयोग गरेर राम्रो संस्कृतिको सुरुवात गरेको बताउनुभयो । कार्यक्रममा राप्रपाका नेता ओमप्रकाश आजाद, तेजविक्रम शाह, वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्तालगायतको सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !