राप्तीको पानी नेपालगञ्ज कहिले आउँछ ?
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले राप्तीको पानी नेपालगञ्ज ल्याउने आयोजनामा भइरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको छ । नेपालगञ्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगर प्रमुख राणाले बर्षौ पहिले पाइप खरिद भएपनि आयोजनामा भइरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको हो ।
वाटर, सेनिटेसन एण्ड हाईजिन फाइनेन्स (वासफिन)ले बुधबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगञ्जभित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगञ्जका सडक खन्न नदिइने स्पष्ट पार्नुभयो ।
सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकार अन्तर्गतका निकायहरु अझ बढि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
वासफिन नेपालले नेपालगञ्जको खानेपानी आपूर्तिको अवस्था, खानेपानी आपूर्तिमा भइरहेको प्रयास लगायतका विषयमा केन्द्रीत रहि प्रारम्भिक निष्कर्ष र सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । वासफिन नेपालका टिम लिडर गंगादत्त नेपाल र प्राविधिक सल्लाहकार सुदर्शन भण्डारीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
वासफिन नेपालको प्रतिवेदनमाथीको छलफलमा सहभागी जनप्रतिनिधिले नगरभित्र खानेपानीको सही व्यवस्थापन हुन नसकेको भन्दै सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो ।