बाघलाई पानी पोखरी

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायत जनावरलाई पानीका लागि सोलारसहितको पोखरी निर्माण गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले तीन ठाउँमा सोलारसहितको पानी पोखरी निर्माण गरिसकिएको बताउनुभयो । सोलारबाट मेसिन चार्ज हुने र पोखरीमा पाइपबाट दिनभरी नै पानी आइरहने व्यवस्था मिलाइएको छ ।
जमिनमुनीबाट पाइप ल्याएर पोखरीमा पानी झारिएको छ । पाइपलाई हात्तीबाट बचाउन भने गाह्रो हुने गरेको छ । वार्डेन शाह भन्नुहुन्छ, ‘हात्तीले पाइप देख्नै हुँदैन । कुच्याककुचुक पारिदिन्छ । त्यही भएर जमिनमुनीबाट पाइप विछ्याइएको छ ।’
जमिनमुनीबाट पाइप ल्याएर पोखरीमा पानी झारिएको छ । पानी झार्ने बेलामा अलिकति त पाइपको टुप्पो देखिन्छ । त्यसलाई हात्ती तानेर तोडफोड गरिदिने गरेको छ ।
वार्डेन शाहले निकुञ्जमा बोरिङसहितको पोखरी आवश्यक महसुस गरिएको बताउनुभयो । जनावरका लागि बाह्रैमास पानीको आवश्यकता पर्ने भएकाले बोरिङसहितका पोखरी बनाउन आवश्यक रहेको वार्डेन शाहको भनाई छ ।
निकुञ्जले अहिलेसम्म ४० वटाजति पोखरी बनेको छ । ती पोखरीमा आकाशे पानी जम्मा हुन्छन् । आकाशे पानीले भरिएको पोखरीमा वर्षैभरी पानी रहदैन । वार्डेन शाहले ४० मध्येमा दश वटा जति पोखरीमा पानी जम्मा भइरहने जानकारी दिनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा चुरेको फेदमा पानीको समस्या छैन । राजमार्गछेउमा पानीको समस्या रहने गरेको छ । आकाशबाट आएको पानी मुश्किलले चार महिना अडिन्छ । जनावरलाई पानी र घाँसे मैदान बनाउन निकुञ्ज लागि परेको छ ।
बाघको संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुुुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् । निकुञ्जमा बाघका लागि चाहिने आहारा प्रजातीका जनावर प्रशस्त रहेको विश्वास गरिएको छ । बाघ पानी, आहारा खोज्दै र कतिपय चाहि बुढो भएपछि बस्ती आसपासमा आउने गरेको वार्डेन शाहको भनाई छ । ‘बाघ मान्छे खोज्दै हिड्दैन, पानी, आहारा खोज्दै वा बुढो भएपछि ऊ आफ्नो सर्कलबाट बाहिरिन्छ । यस्तो बेलामा मान्छेसँग जम्काभेट भयो भने आक्रमण गर्छ, निकुञ्ज कर्मचारीहरु भन्छन् ।
बाँके राष्ट्रिय निकुञ्जभित्रै पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्ग पर्छन् । निकुञ्ज क्षेत्रमा पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । सडकको दुवैतिर जंगल भएकाले कहिलेकाही बाघ यता र उता गर्न सक्छन् । अहिलेसम्म बाँकेमा राजमार्गमा बाघले मान्छेलाई आक्रमण गरेको पाइएको छैन । बाघले मान्छेलाई मार्दै नमारेको भने होइन ।
वन महासंघ, बाँकेका उपाध्यक्ष शालिकराम डाँगीका अनुसार, गतवर्ष बाघले दुई जनालाई मारेको थियो । कोहलपुरको भरैयामा दाउरा खोज्न गएको र बालापुरमा घाँस काट्न गएका महिलालाई बाघले मारेको थियो । यी दुई घटना तीन दिनको फरकमा भएको थियो । डाँगीले त्यसपछि बाघले आक्रमण गरेको थाहा नपाएपनि चितुवाले घरपालुवा जनावर मारिदिने घटना भइरहने बताउनुभयो । (युगबोधबाट)


error: यो सुविधा उपलब्ध छैन !