नेपालगञ्जलाई पूर्ण खोप घोषणाको तयारी
नेपालगञ्ज – नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ ।
पूर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समीक्षा, सुक्ष्म योजना अद्यावधिक र खोप समन्वय अभिमुखिकरण बिहीबार भएको छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यहि फागुन भित्र बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको जानकारी दिनुभयो । फाल्गुन १० भित्र वडा, १५ भित्र पालिका र ३० गतेभित्र स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्ने उहाँको भनाई छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले नगरमा भौतिक विकाससँगै सामाजिक विकासलाई एकसाथ लैजानुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को खोप निकट भविष्यमा आउने भएकाले अहिलेदेखि नै मानसिक रुपमा तयारी हुन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरलाई पूर्ण खोप घोषणाका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो । वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले नगरमा स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यकता अनुसार दरबन्दी हुनुपर्नेमा जोड दिनुभयो ।