त्यो मदिराको स्वाद
क्रमशः
सन् १९८८ मा म मोहम्मडनको जुनियर टिममा थिएँ । सिनियर टिममा उक्लिन एक वर्ष लाग्यो । बैङ्गलोरको महात्मा गान्धी रोडभित्र एउटा बिग्रेट रोड छ । त्यहाँ पप, होटल, डिस्कोबारहरू छन् । फुर्सदको सदुपयोग र मनोरञ्जनका लागि त्यो राम्रो ठाउँ मानिन्थ्यो । जुन अहिले पनि मानिन्छ ।
हाम्रो बसाइ होस्टेलमा थियो । वाईके दाइ मलाई खुबै माया गर्थे । उनैले हो मेरो नाम गोपालबाट गोपी बनाएको । एक दिन उनले मलाई पपमा लगे । झन्डै एक फिटको सिसाको जार अर्थात् मगमा बियर मगाए । त्यसअघि म घुमेको थिएँ तर बियर खाएको थिइनँ । उनले खाऊ–खाऊ भने । कहिल्यै नखाएकाले मैले नाई खान्न भनेँ । ‘बियर भनेको सफ्ट ड्रिङ्स हो । खाऊ केही हुँदैन’ भनेर उनले कन्भिन्स गर्न थाले । अनेक कहानी सुनाए । खेलाडीले पनि बियर खान्छन् भन्ने उदाहरण दिँदै भने, ‘गुण्डापा विश्वनाथ, चन्द्रशेखर बियर खाएर पनि ठूलो खेलाडी छन् ।’
अति नै कर गरेपछि मेरो केही लागेन । बैङ्गलोर टुरले बियर खान सिकायो । त्यसअघि होटल–रेस्टुराँहरूमा बोतलमा ल्याएर बियर खाएको देखेको थिएँ । जारमा ल्याएर खाएको देखेको पनि पहिलोपल्टै थियो । मदिरा एउटा नराम्रो लत हो । पहिलोपल्ट वाईके दाइको मन राख्न बियर खाइदिएको
थिएँ । त्यसपछि साथीभाइको मन राख्न खाएँ । पछिपछि बेलाबेला बियर खान मन लाग्न थाल्यो । गर्मीमा बियर, जाडोमा रममा रमाउन थालियो ।
बाटा क्लबबाट खेल्दा हरेकजसो शनिबार साथीभाइ बसेर बियर पिउँथ्यौँ । उदयभानु बेनर्जीले रम खान सिकाए । ओल्ड मङ्क रम खुबै खाइयो । रेलवे क्लब नेताजी सुभाष इन्स्टिच्युटमा पुगेपछि कक्टेलतर्फ लागियो ।
आमाको डाक्टर सपना
बुबाको निधनपछि आफन्तले नेपाल फर्किन धेरै आग्रह गरे । तत्कालै फर्किन आमाले मान्नु भएन । आमालाई छोराछोरीको पढाइ बिग्रेला भन्ने निकै चिन्ता थियो । कोलकातामा नै सबैलाई पढाउने आमाको इच्छा थियो । उहाँ मलाई डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो । आमाको त्यो सपना पूरा गर्नकै लागि मैले बिज्ञान विषय लिएर पढेँ पनि । हाईस्कुलमा मैले राम्रै गरेको थिएँ । डाक्टर पढाउनकै लागि आईएस्सी बायोलोजी भर्ना गराउनु भयो । लाजपतबाट आईएस्सी पास गरँे, बङ्गोबासी मर्निङ कलेजबाट बीएस्सी गरेँ । एमबीबीएस पढ्न छात्रवृत्तिमा नाम निकाल्नु पथ्र्यो । अथवा, धेरै खर्च गर्नु पथ्र्यो । त्यो हाम्रो सामथ्र्यभन्दा बाहिरको थियो ।
डाक्टर हुनुपर्ने म सानो गल्ली, टोल, खिदिरपुर हुँदै व्यावसायिक खेलाडी भइसकेको थिएँ । डाक्टरभन्दा मेरो ध्यान क्रिकेटतर्फ मोडिएकाले पनि मैले आमाको सपना पूरा गर्न सकिनँ । क्रिकेटमा लागेको देखेर सुरुमा आमा निराश हुनुहुन्थ्यो ।
क्रिकेटमा ससाना सफलता पाउन थालेपछि मलाई केही राहत मिल्यो, आमालाई सन्तोष । त्यसपछि आमाले भन्न थाल्नुभो, ‘ठीकै छ, जहाँ भए पनि राम्रो गर्नू । सफल हुनू ।’
पुख्र्याैली घर पर्वत जाँदा दमले थलिएर बुबाको निधन भएको थियो । पहाडमा स्तरीय स्वास्थ्य संस्था र डाक्टर नभएकाले बुबालाई बचाउन नसकेकामा आमालाई सधैँ थकथकी लागिरह्यो । त्यसैले कान्छो छोरालाई डाक्टर बनाउने इच्छा पलाएको रहेछ ।
मेरी आमा असाध्यै कोमल हृदयकी हुनुहुन्छ । दुःख र अप्ठ्यारोमा परेका जोकोहीलाई सहयोग गर्न तम्सिई हाल्ने । कोलकातामा पनि आमाको परिचय समाजसेवीकै थियो । स्वास्थ्य सेवालाई उहाँले ठूलो समाजसेवा ठान्नु हुन्थ्यो । त्यसैले मलाई पैसाको पछि दौडने होइन, बिरामीको पछि दौडने डाक्टर बनाउन चाहनु हुन्थ्यो ।
हवल्दारको लाइनबाट भागँे
पर्वत र कास्कीका पहाडी गाउँबाट भारतीय सेनामा भर्ती हुनेको सङ्ख्या ठूलो थियो । धेरैजसो जवान र केही लेसनायकसम्म पुगेका थिए । डाक्टर बन्ने सपना तुहिएपछि मैले बीएस्सी पढेँ । परीक्षा सकेर बसेको बेला आमाले भारतीय सेनामा सिभिलतर्फ हवल्दार बनाउन प्रयास गर्नुभयो । आफैँ गएर फारम ल्याइदिनु भयो । १२ कक्षा पासका प्रमाणपत्रहरू राखेर फारम भ¥याँै ।
पहाडमा सबैजसो जवान छन् । हवल्दारमा भर्ती पाए त्यो पनि ठूलै हुन्छ भन्ने उहाँलाई लागेछ । भाग्यले साथ दिएछ भने सेनाबाटै मेडिकल साइन्स पढ्ला भन्ने आफ्नो सपना ब्यूँताउने झिनो आशा पनि रहेछ ।
आमाले आफैँ गएर फारम बुझाउनु भयो । चिनेजानेकासँग भर्तीका लागि भनसुन पनि गर्नुभएछ । सिभिलमा भर्ती लिँदा पहिले अन्तर्वार्ता लिएर मात्र छनोट गथ्र्याे । आमाले मलाई चौरङ्गीको एलगिनरोडको सैनिक अड्डामा अन्तर्वार्ताका लागि लैजानु भयो ।
हामी सरासर रेकुरेटिङ अफिसमा गयौँ । जवान, हवल्दार र अधिकृतका लागि लामो लाइन लागेको थियो । त्यो देखेरै मलाई दिक्क लागिसकेको थियो । चार–पाँच सय युवाको पुछारतिर म फारम लिएर उभिइरहेँ ।
सैनिक बन्न मलाई रत्तिभर इच्छा थिएन । आमाको मन राख्नका लागि मात्र फारम भरेर लाइनमा उभिएको थिएँ । मनमा आर्मी हुने कि क्रिकेटर भन्ने द्वन्द्व चलिरहेको थियो । मध्याह्नको साढे २ बजेको थियो । मैले क्रिकेट क्लब सम्झिएँ । अनि, क्रिकेट खेल्ने अठोट गरेँ र सुटुक्क सैनिक भर्ती लाइनबाट भागेँ ।
आमा गेटमा कुरिरहनु भएको थियो । छोरा नआएपछि लाइनमा हेर्न जानु भएछ । लाइनमा पनि नदेखेपछि घर फर्किनुभएछ । साँझ घर आउँदा आमा र दाइहरू रिसले चूर । निकै दुःखी हुँदै सम्झाउनु भयो, ‘तँलाई हवल्दार बनाउन कहाँ–कहाँ कुरा गरिसकेको थिएँ । त्यो सबै बेकार भयो । तेरै भलाइका लागि त मैले यो सबै गरेँ ।’ आमाको कुरा सुनेर मलाई पनि नमज्जा लाग्यो । वास्तवमा म लाइनमा बस्नु परेकाले भागेको थिएँ । अहिले पनि मलाई लाइनमा उभिएर पालो कुर्नुजस्तो झन्झट अरू केही लाग्दैन । तर, नियम भने कहिल्यै मिच्दिनँ ।
कम्प्युटर इन्जिनियरिङ हापेँ
डाक्टर र हवल्दार बनाउने आमाको इच्छा पूरा गर्न नसकेपछि उहाँले मलाई कम्प्युटर इन्जिनियर बनाउने सपना देख्नुभयो । मेरो पढाइ राम्रै थियो ।
त्यसैले मन लगायो भने गर्न सक्छ भन्ने परिवारको विश्वास थियो । सन् १९८९ मा आमा र माइलो दाइले कम्प्युटर सफ्टवेयर एन्ड एप्लिकेसनको आठमहिने कोर्सका लागि इसप्लानेडस्थित वाईएमसीएमा भर्ना गरिदिए । नेसनल म्युजियमको छेउमै वाईएमसीएको भवन थियो । छुट गराएर पनि साढे ६ हजार
भारु शुल्क लाग्यो । बीएस्सी परीक्षा दिएर बसेकाले म खाली नै थिएँ । सैनिक हवल्दारपछि कम्प्युटर सफ्टवेयरको फारम भरिएको थियो ।
कम्प्युटर कोर्स पूरा गर्न सके जागिरका धेरै ढोका खुल्ने उहाँहरूको विश्वास थियो । क्रिकेट सिजन नभएकाले मैले एक महिना नियमित कम्प्युटर कक्षा लिएँ । मलाई त्यहाँ दुई कुराले हैरान बनायो । पहिलो त, मेरो क्रिकेट अभ्यास समय जुधेको थियो । कक्षा लिन थालेपछि म मैदान जान अनियमित भइरहेको थिएँ । अर्को, त्यहाँका शिक्षकको व्यवहार पनि ठीक थिएन । केटीसँग अस्वाभाविक नजिकिने र केटाहरूलाई बेवास्ता गरेको भन्दै विरोध समेत भएको थियो । यस्तोमा म रमाउन सकिनँ । एक महिनापछि नियमित जान छाडेँ । बिस्तारै कक्षा लिन जानै छाडिदिएँ ।
एक दिन आमा वाईएमसीएमा जानुभएछ । शिक्षकले कम्प्लेन गरिदिएछन्, ‘ऊ नियमित छैन । कहिले आउँछ, कहिले आउँदैन ।’ मेरो पोल खुल्यो । आमा मसँग रिसाउनु भयो । घर आउनासाथ झपार्नु भयो, ‘डाक्टर पढाउने भनेँ त्यो छोड्यो । आर्मी हवल्दार बनाउन आफैँ कस्सिएँ, भाग्यो । हुँदाहुँदा त्यतिधेरै पैसा तिरेर भर्ना गरिदिएँ, कम्प्युटर कक्षा पनि छाडेछ । तैँले के गर्न खोजेको ?’
मैले त्यहाँको माहोल ठीक नभएको बताएँ । न आमाले पत्याउनु भयो, न त दाइले । त्यो सबै पढ्न छाडेर खेल्न जाने बहाना मात्र हो भन्ने उनीहरूले ठाने । त्यसबेला कम्प्युटर सफ्टवेयर सिकेको भए अहिले कम्प्युटर एप्लिकेसन र सफ्टवेयरको क्षेत्रमा धेरै गर्न सकिन्थ्यो होला । तर, क्रिकेट मोहले ती सबै मेरा लागि फिकाफिका लागेका थिए ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)